काठमाडाै । बडा दसैँको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।


फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । यसपटक पनि गोरखा दरबारबाट फूलपाती ल्याइँदै छ । नेपाली सेनाले सो फूलपाती ल्याउने चलन छ ।

नेपाल कर्म । ४ कार्तिक २०८०, शनिबार ०७:०८