काठमाडाै । केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन् ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गर्न थालेका छन् । केही समयअगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाएका थिए । नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै १ लाख रुपैयाँ तलब दिने बताइएको थियो । अन्तिमपटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । न्युयोर्क टाइम्सका अनुसार सन्दीपजस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।

यस्तै, रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेका नेपालका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको अभ्दिभ्का शहरबाट नेपालस्थित बर्दियाका खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो ।

युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले नेपालका विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । हेरासचेन्कोले सार्वजनिक गरेको भिडियोमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन् ।

नेपाल कर्म । ३ कार्तिक २०८०, शुक्रबार १७:३२