सुर्खेत । कर्णालीमा नयाँ नोटको अभाव देखिएको छ । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिएको बताएको थियो ।

बिहीबार वीरेन्द्रनगर–६ कि चन्दा बोहोरा नयाँ नोट सटहीका लागि वीरेन्द्रचोकमा रहेको बैंकको शाखा कार्यालयमा पुगिन् । बोहोराले दश हजार बराबरका एक सय, पाँच सय र एक हजार दरका नोट साट्न खोजेकी थिइन् ।

तर, बैंकले आफूहरूलाई नयाँ नोट प्राप्त नभएकाले राष्ट्रिय बाणिज्य बैंकमा जान सुझाएपछि बोहोराले नोट नै नसाटी फर्केको बताइन् । शुक्रबार वीरेन्द्रनगर–३ कि मनिषा शाही दसैँका लागि पाँच हजार बराबरका नयाँ नोट लिन राष्ट्रिय वाणिज्य बैंकको वीरेन्द्रचोक शाखामा पुगेकी थिइन् । उक्त शाखाले जुम्ला रोड शाखामा पठायो । तर, शाहीले त्यहाँ पनि नयाँ नोट पाउन सकिनन् ।
बोहोरा र शाही दसैँका लागि नयाँ नोट साट्न बैंक धाएर पनि नपाउनेका उदाहण हुन् । बिहीबारदेखि नयाँ नोट सटहीका लागि बैंक पुग्ने अधिकांश रित्तो हात फर्कने गरेका छन् । राष्ट्र बैंकको नेपालगन्ज कार्यालयले कर्णालीका लागि पर्याप्त नयाँ नोट नपठाएपछि वीरेन्द्रनगरमा मात्रै होइन कर्णालीका दश वटै जिल्लामा नयाँ नोट अभाव भएको जनाइएको छ । कर्णालीमा नोट वितरणको जिम्मा पाएको राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालयले दसैँ र तिहारलाई भनेर झण्डै एक अर्ब रुपैयाँ ल्याएको भए पनि अपुग भएको जनाएको छ ।

कर्णालीका दश वटा जिल्लामा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकमा दश वटा नोट कोषहरू रहेका छन् । ति नोट कोषहरूमा राष्ट्र बैंकले पैसा पठाएपछि अन्य बैंकहरूले नोट सटही गर्ने गर्दछन् । ति नोट कोषमा राष्ट्र बैंकले कम पैसा पठाएपछि वाणिज्य बैंक बाहेक अन्य बैंकले नयाँ नोट सटही गर्न नपाएका हुन् । सबैभन्दा बढी नयाँ नोटको अभाव सुर्खेतमा देखिएको छ । प्रदेश राजधानी भएका कारण सुर्खेतमा बढी आर्थिक कारोवार हुने भएकाले नयाँ नोट अभाव भएको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख बाबुराम कोइरालाले बताए ।
दसैँका लागि भनेर राष्ट्र बैंकको नेपालगन्ज कार्यालयबाट दुई पटक नोट आएको उनले बताए । आफूले २९ गते बाट नयाँ नोटहरू साट्न दिएको निर्देशन बमोजिम बैंकहरूले सटही गरेको र बिहीबार नोट सकिएको जानकारी आफूलाई आएको प्रमुख कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार नेपालगन्ज कार्यालयबाट पहिलो पटक ५४ करोड दोस्रो पटक ४० देखि ४५ करोडको हाराहारीमा विभिन्न दरका नोटहरू कर्णाली ल्याइएको थियो । तर, मागअनुसार नोट अभाव भएको हो ।
राष्ट्र बैंकले बर्सेनि दसैँ तिहारका लागि ठूलो संख्यामा नयाँ नोट छपाई गर्दा खर्च धेरै लाग्ने र चाडपर्वमा नोट फोहोर भएर व्यभार थप हुने भएकाले चलन चल्तीका नोटलाई नै प्रयोगमा ल्याउने प्रयास अनुरुप यस पाली बजारमा नयाँ नोटहरू धेरै नपठाइएको कार्यालय प्रमुख कोइरालाले बताए । नयाँ नोटको अभावले अन्य बैकिङ्ग कारोबारमा भने कुनै असर नपर्ने उनको भनाइ छ ।

नेपाल कर्म । ३ कार्तिक २०८०, शुक्रबार १७:१०