गाजाकाे अस्पतालमा भीषण हमला, कम्तीमा पाँच सय जनाकाे मृत्यु

काठमाडाै‌ । गाजाको एक अस्पतालमा इजरायली सेनाले हवाई आक्रमण गर्दा करिब पाँच सय जनाको मृत्यु भएको गाजाकाे स्वास्थ्य विभागले दाबी गरेकाे छ । तर बीबीसी इन्टरनेशनलका सम्पादक जेरेमी बोवेनसँग इजरायली सेनाका प्रवक्ताकाे कार्यालयले अस्पतालमा आक्रमण गर्ने आफूहरूकाे कुनै उद्देश्य नरहेकाे बताएकाे छ ।



‘अस्पताल एकदमै संवेदनशील क्षेत्र हो र इजरायली सेनाले त्यहाँ कुनै निशाना लगाएकाे छैन । विस्फोटको स्रोतबारे सेनाले अनुसन्धान गरिरहेको छ’, इजरायली सेनाकाे कार्यालयले भनेकाे छ । इजरायली सेनाले अल अहली अस्पतालमा भएकाे याे हमला प्यालेस्टाइनी लडाकुहरूले प्रहार गरेको रकेटको परिणाम हुन सक्ने पनि बताएकाे छ ।

गाजास्थित हमासको मिडिया कार्यालयले आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ । ‘गाजामा इजरायली हमलापछि अस्पतालमा सयौँ बिरामी, घाइते र घरबारविहीनहरू छन् । सयौँ पीडितहरू भग्नावशेषमा दबिएका छन्’, हमासकाे विज्ञप्तिमा भनिएको छ ।

बीबीसीका मध्यपूर्व संवाददाता टम ब्याटम्यानले अल अहली अरब अस्पतालबाट आएका तस्वीरहरू डरलाग्दा र भयावह रहेको बताएका छन् । उनकाअनुसार सडक बाहिर शव र क्षतिग्रस्त सवारी साधनहरू देखिन्छन् ।

आक्रमणबाट बच्न अस्पतालको हलमा शरण लिएको स्थानीयले बताएका छन् । बीबीसीले अस्पतालका डाक्टरसँग कुरा गर्दा त्यहाँ करिब चार हजार मानिसहरूले आश्रय लिएको जानकारी दिइएकाे छ ।

अहिले अस्पतालको ८० प्रतिशत सेवा प्रभावित भएको र विष्फोटमा सयौँको ज्यान गएको एक डाक्टरले बताएका छन् । प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोकको घोषणा गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् ।’डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । प्रारम्भिक जानकारीले सयौँ मानिस घाइते र मारिएका छन् । हामी नागरिकको तत्काल सुरक्षा र स्वास्थ्य सेवामा पहुँचको माग गर्दछौँ’, उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया