भेरीगंगा–११ का ४ सय बढीलाई पूर्जा वितरण गर्दै आयोग

सुर्खेत । सुर्खेतकाे भेरीगंगा नगरपालिका–११ वडा भित्र पर्ने जग्गाहरुको लालपूर्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति, सुर्खेतले उक्त वडाका करिब चार सय बढी नागरिकलाई पूर्जा वितरणको काम अन्तिम तयारीमा पुर्याएकाे हाे।



राष्ट्रिय भूमि आयोग सुर्खेतका सदस्य सचिव राजेन्द्र थापाले भेरीगंगा नगरपालिका–११ का सबै नागरिकलाई  पूर्जा लिनका लागि अन्तिम पट्क कागजात तयार गर्नका लागि १५ दिने सुचना जारी गरिएको बताए।

उनले भने, ‘हामीले भेरीगंगा नगरपालिका–११ का नागरिकलाई लालपूर्जा वितरणका लागि एक चरणको काम सकेर पनि अनुसुची २ बमोजिकको काम सकेका छाैँ। ती सबै कामलाई पुनः पुष्टिगर्नका लागि १५ दिने सुचना जारी गरिएको हो।’

सचिव थापाकाअनुसार यस वडा कार्यालयभित्र पर्ने जग्गाहरुका अधुरा–अपुरा काम अन्तरगत अनुसुचि २ बमोजिमको ढांचामा भूमि आयोगमा प्राप्त निवेदनका फाईलहरुको प्रमाण संकलन, फिल्ड चेकजाँच, सर्जमिन मुचुल्का तयार लगायतका अन्य आवश्यक कार्य गर्नका लागि शनिबारदेखि १५ दिने सार्वजनिक सुचना जारी गरिएको छ।

साथै प्रमाण–पत्र तयार भएको १५ दिनपछि फिल्डमा अमिनहरु गएर फाईलहरुको फाइनल गरेर लालपुर्जा वितरण हुने थापाको भनाई रहेको छ।

थापाका अनुसार भेरीगंगा वडा नम्बर १३ वडामा पुर्जा वितरणको सबै काम सकिएको छ भने वडा नम्बर ८ का नागरिकलाई वितरणका लागि दुई सय २२ वटा पूर्जा तयार भएका छन्।

यस्तै, नगरपालिका भित्र रहेका करिब १० हजारको हारहारीमा रहेका नागरिकलाई पूर्जा वितरणका लागि भूमि अयोग र नगरपालिकाबीचमा सहकार्य र समन्वय भएर रफ्तारमा काम अगाडी बढिरहेको छ।

भेरीगंगा वडा नम्बर ६ र ७ मा आयोगले लालपूर्जा बाँडेर सकिसकेको छ भने वडा नम्बर ८ काे अन्तिम चरणमा पुगेकाे आयोगले जनाएको छ। अयोगले नगरपालिका भित्रका विभिन्न वडामा २०७८ सालमा एक सय १२ वटा र त्यसपछि एक सय २१ वटा पूर्जा यसअघि नै वितरण गरिसकेको छ।

तपाईको प्रतिक्रिया