सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेश सयपत्री फूलमा पनि आत्मनिर्भरोन्मुख अवस्थामा छ । विभिन्न अध्ययन, अनुसन्धानसँगै प्रविधिको प्रयोग गरी सयपत्री फूल उत्पादन बढ्न थालेको हो । दशैं, तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा बढि प्रयोग हुने सयपत्री फूलमा आत्मनिर्भरताको सवाल उठिरहेको बेला यहाँका कृषक तथा व्यवसायीहरु फूल उत्पादनमा जुटेका हुन् ।

जसमध्ये एक उदाहरणीय व्यत्तित्व हुनु हो, सुर्खेतका युवा व्यवसायी बिनोद शर्मा । शर्मा हाल सयपत्री फूल खेतीमा रमाउँदैछन् । शर्माले फूल खेतीका लागि कर्णाली एग्रो फर्म समेत संचालनमा ल्याएका छन्। भेरीगंगा नगरपालिका–८, लोदे स्थित सोही फर्म मार्फत उनले हाल १२ कठ्ठा जग्गामा सयपत्री फूल खेती गरेका छन् ।

भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट सुर्खेतमा आयात हुने फूललाई निरुत्साहित गर्न आफुले व्यवसाय थालेको शर्मा बताउँछन् । हाल सयपत्री फुल र सयपत्री माला उत्पादन गरी बिक्रि गर्दै आएको उनले बताए ।
सुर्खेतको बड्डिचौर स्थित जनज्योति माध्यामिक विद्यालयबाट कृषि बिज्ञान (प्रमाणपत्र तह) उतिर्ण गरेका व्यवसायी शर्मा हाल मध्य–पश्चिम विश्वबिद्यालय, कृषि स्नातक (दोस्रो सत्रान्त) मा अध्ययनरत विद्यार्थी समेत हुनु हो।
जनज्योति मा।विको पढ्दै कमाउँदै कार्यक्रमबाट शर्मा व्यवसायीप्रति आकर्षित हुनु भएको छ । कमाउँदै पढ्दै गरेका बिनोद शर्मा हाल कृषि प्राविधिक मात्रै नभई कर्णालीमा आफुलाई एक अब्बल पुष्प व्यवसायीको रुपमा पनि स्थापित भएका हुन् ।
२०७९ देखि सयपत्री फूल खेती सुरुवात गरेका शर्माले मेहेनतको प्रतिफल पनि राम्रै पाएको बताउनु हुन्छ। हाल उहाँले उत्पादन गरेको सयपत्री फूलको प्रमुख बजार सुर्खेतको छिन्चु, वीरेन्द्रनगर र नेपालगंज बनेको छ । तर अर्डर अनुसार फूल निर्यात गर्दै आएका व्यवसायी शर्मा दशैं, तिहार बाहेक अन्य समयमा फूलले मुल्य पाउन नसकेको बताउँछन् ।

’दशैं, तिहारमा प्रति के।जी पाँचदेखि सात सय रुपैंयासम्म पनि बिक्रि हुने सयपत्री फूल अन्य समयमा प्रतिकेजी दुई सय रुपैंयामा मात्रै बिक्रि हुन्छ’ उनले भने, ‘दशै, तिहारमा हाम्रो उत्पादन प्रयोग गरिदिनुहोला । सो समयमा बजारमा हाम्रो सयपत्री स्टल रहन्छ ।’ विभिन्न कार्यक्रम तथा सभा समारोहमा बजारमा आयातित खादाको माला प्रयोग गर्ने बानीले उक्त ठाउँमा सयपत्री फूलले स्थान पाउन नसकेको उनकाे तर्क छ । शर्माले गत वर्ष मा ४/५ कट्टा जग्गामा एक हजार पाँच सय किलो सयपत्री फूलबाट सात लाख ५० हजारको कारोबार गरेका थिए। जसमा उनकाे लगानी एक लाख ५० हजार थियो ।
तर २०८० का लागि उनले १२ कठ्ठा जग्गमा सयपत्री फुल खेती गरेका छन् । उनकाे फर्ममा कर्मा ५५५ ओरेन्ज, कर्मा १११ ओरेन्ज र टेनिस बल जातका आठ हजार चार सय फूलका विरुवा छन् ।
यस बर्ष चार हजार किलो अनुमानित उत्पादन लक्ष्य लिएका शर्माले १५ लाख बराबर कारोबार हुने अनुमान गरेका छन् । जसमा उनको लगानी तीन लाख रहेको छ ।
हाल शर्माले एक जना कर्मचारी राखेका छन्। ६ जना मौषमी कामदारलाई महिनामा १५ दिन काम उपलब्ध गरेवापत ज्याला भुक्तानी गर्दै आएका छ । सयपत्री फूलको बजार संभावना राम्रो रहेको भन्दै यसमा लगानी बढाउदै जाने उनकाे भनाइ छ ।
तर स्थानीय तथा प्रदेश सरकारले पनि पुष्प प्रवद्र्धन नीति तथा खेती प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम बनाउन जरुरी छ । प्रदेशलाई पूर्ण आत्मनिर्भरताका लागि साना किसान मार्फत सयपत्रि फूलको खेती विस्तारमा जोड दिनुपर्ने देखिन्छ । साथै फूलको अध्ययन अनुसन्धानका लागि पनि बजेट व्यवस्थापन गर्न जरुरी छ ।

नेपाल कर्म । ३० आश्विन २०८०, मंगलवार १४:४०