जम्मुकश्मीरमा सक्रिय वायु नेपाल प्रवेश : दशैंकाे टिकासम्म पानी पर्ने सम्भावना कति ?

सुर्खेत । आगामी बुधबारसम्म मौसमी बदली हुने भएकाले तत्काल धान नकाट्न मौसमविदले सुझाव दिएका छन् । भारतको जम्मुकश्मीर आसपासमा सक्रिय बनेको पश्चिमी वायुका कारण नेपालमा पनि पानी पर्ने सम्भावना देखिएकाले कृषकहरुलाई धान नकाट्न अपिल गरिएको हो ।




दुई दिन मौसम प्रतिकुल हुने देखिएकाले धान नकाट्न यसअघि नै अपिल गरिएको थियो । सोमबार दिउँसोदेखि सुदूरपश्चिम प्रदेशका अधिकाँश स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद प्रतिमा मानन्धरले नेपालकर्मलाई जानकारी दिइन् । उनकाअनुसार गएराती सुदूर र कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लामा असिना र चट्याङ्गसहितको वर्षातले बाली नालीमा क्षतीसमेत पुगेको छ ।

‘आज पनि पश्चिमी वायु सुदूरपश्चिमबाट कर्णालीहुँदै लुम्बिनी र गण्डकी प्रदेशसम्म सरिरहेको छ,’ मानन्धरले भनिन्, ‘यो प्रणाली बुधबारसम्म सक्रिय रहनेछ । मंगलबार पहाडी भू–भागमा वर्षात र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अधिक सम्भावना देखिन्छ ।’

मंगलबार भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उनको भनाई छ ।

‘मनसुन बाहिरिसकेको छ फेरि पानी किन पर्न थाल्यो भन्ने कतिपयको प्रश्न छ,’ मौसमविद मानन्धरले भनिन्, ‘मनसुनी र पश्चिमी वायुको गतिविधि नै फरक हो । मनसुन बाहिरिएपछि पश्चिमी वायु सक्रिय हुन्छ । तर यो पटक छिटै सक्रियहुँदा त्यसको प्रभाव नेपालमा पनि परेको हो ।’ दशैंकाे टिकासम्म वायु प्रणाली विकास हुने सम्भावना नरहेको उनी बताउछिन् । बुधबारबाट विस्तारै पश्चिमी वायु हट्दै जाने महाशाखाको भनाई छ ।

तपाईको प्रतिक्रिया