यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो हो : रक्षामन्त्री खड्का

काठमाडाै‌ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् ।



सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताए । उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए । उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे ।

उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन र योजना बनाउँदै अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया