सुर्खेत । छिन्चुस्थित तोली खोलाको पुलबाट खसेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश २४७ नम्बरको बसमा सवार दैलेखको आठविस घर भएका दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

आठविस नगरपालिका–३ का अन्दाजी ३८ वर्षीय कार्की तोली खोला पुलबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार खाना खान रोकिएको अवस्थामा एक्काशी उनी पुलमा पुगेर हामफालेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीको मानसिक अवस्था ठिक नभएको खुलेको छ ।


कार्कीको प्रारम्भीक उपचार छिन्चुमा रहेको माया नर्सिङ पोलिक्लिनिक गरेपछि थप उपचारका लागि प्रदेश अस्पताल ल्याइएको थियो । तर कार्कीको सोमबार विहान करिव ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान अघि बढाएको र घटनाबारे थप सवारी चालकसँग सोधपुछ गरिरहेको जनाएको छ ।

नेपाल कर्म । २९ आश्विन २०८०, सोमबार १०:३१