सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे ।

सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।


उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिए । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उनले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०-१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताए ।

नेपाल कर्म । २७ आश्विन २०८०, शनिबार १६:२०