काठमाडाै । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको सनाखतलगत्तै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकाे घाेषणा गरेका हुन् ।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । हिजाे दुवै आकाङ्क्षीकाे पक्षामा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय ताेकेका थिए ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टी भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

कांग्रेस संस्थापन पक्षले माओवादी केन्द्रका आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका कार्कीले एमालेसँग मिलेर आफ्नो दाबी पेस गरेका थिए । पार्टीमा विद्रोह गरेका कार्की नै मुख्यमन्त्री नियुक्त भएका छन् ।
सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’कार्की नेतृत्वकाे सरकारले अबकाे एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल नगरे कोशी प्रदेश मध्यावधि चुनावमा जानेछ ।

नेपाल कर्म । २७ आश्विन २०८०, शनिबार १२:४५