सुर्खेतको बावियौचारबाट सिधा सुदूरपश्चिम बस सेवा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिव ४५ किलोमिटर दुरीमा छ बावियाचौर । यो पञ्चपुरी नगरपालिकाको केन्द्र हो ।साविक कर्णाली, भेरी अञ्चलको दैलेख र सुदूरपश्चिमका अछाम तथा बाजुराको हटारु मार्गको केन्द्र पनि हो बावियाचौर । यहीँ बजारले जामु–कुइनेहुँदै लुम्बिनी प्रदेशको राजापुर र सुदूरपश्चिमको चिसापानीसम्म हटारु बाटोको पहिचान बनाएको थियो ।



हटारु बाटोमा विस्तारै सडक र भेरी तथा कर्णाली नदीमा पक्की पुल बनेपछि घटौं पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो । पञ्चपुरीको भेरी नदीस्थित तातापानी र कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टा र पञ्चपुरीकै कुइनेस्थित कर्णाली नदीमा पक्की पुल बनेपछि सुदूरपश्चिम प्रदेश जान सहज बनाइदिएको हो ।

पक्की पुल बनेसँगै बावियाचौर–चिसापानी सडक यात्रा सहज बनेको छ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म कैलालीबाट दैनिक १५ वटा सार्वजनिक सवारी आउने गरेका थिए ।

तर दैनिक रुपमा सोल्टासम्म सवारी आएपनि सुर्खेत पश्चिमका नागरिकहरुले कुइनेबाट अर्को सवारी फेरेर बावियाचौर आउनु पर्ने बाध्यता थियो । सुदूरपश्चिम र सुर्खेतको बावियाचौरसम्म सिँधा यातायात सेवा सञ्चालन नहुँदा यात्रुहरुले सास्ती ब्यहोर्नु परेको थियो ।

तर सुर्खेतमा रहेको संयुक्त यातायात सेवा र सुदूरपश्चिममा रहेको सुदूरपश्चिम यातायात व्यवसायीविच भएको छलफल बावियाचौरबाट सिँधा चिसापानी यातायात सञ्चालन गर्ने सहमति भएको हो । दैनिक सुदूरपश्चिम, कर्णाली रिर्भर तथा संयुक्त यातायातका सवारीहरु छुटाउने सहमतिले पश्चिम सुर्खेतका नागरिकहरुलाई सहज भएको हो ।

यो सडकमा दैनिक दुवैतर्फबाट १५/१५ ओटा सवारी छुटाउने सहमति गरिएको संयुक्त यातायात सेवा सुर्खेतका प्रतिनिधी रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए । ‘सडकको अवस्था त कठिन नै छ, तर यहाँका नागरिकहरुको मागअनुसार सिधा यातायात सेवा चलाउनु पर्ने देखिएपछि दुवै यातायात व्यवसायीविच सहमति गरेका हौं,’ देउती नागरिक यातायात प्रा.लि.का सचिवसमेत रहेका खड्काले भने, ‘अब दैनिक बावियाचौर–टिकापुर, बावियाचौर–चिसापानी नियमित गाडीहरु सञ्चालन शुरु गरिएको छ । यसले यात्रुहरुलाई थप सहज बनाउने अपेक्षा छ ।’

सुदूरपश्चिम र सुर्खेतका यातायात व्यवसायीविच भएको सहमतिमा चिसापानी–वावियाचौर–विजौरा तथा चिसापानी–कुइने–घाटगाउँ–गुटु–विजौरासम्म सवारी सञ्चालन गरिने उल्लेख छ ।

खड्काअनुसार वीरेन्द्रनगर–बड्डिचौर–बावियाचौर सडक खण्डको अवस्थामा राम्रो भएमा वीरेन्द्रनगर–बावियाचौर–चिसापानी टिकापुर तथा धनगढी, महेन्द्रनगरसम्म दुवै यातायात व्यवसायीहरुले सिँधा बस सेवा सञ्चालन गर्न सकिने विषयमा पनि छलफल गरिएको छ ।

रोजगारीका लागि भारत तथा सुदूरपश्चिम, बर्दिया र नेपालगञ्ज पुग्न यहाँका नागरिकहरुलाई सहज हुनेछ । सुर्खेतको बड्डीचौरहुँदै कोहलपुर–चिसापानीसम्मको करीब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ ।

छोटो दूरीको यातायातबाट साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सुर्खेत पश्चिममा रहेका सालकोट, बावियाचौर, गुटु लगायतका नागरिकहरु किनमेलका लागि चिसापानी पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया