अन्तत एमाले पार्टी कार्यालयका व्यवसायिक सटर हटाइयो, माओवादीको आनाकानी

सुर्खेत । पार्टी कार्यालय सञ्चालन गर्ने उदेश्यले लिएका जग्गामा व्यवसायीक पसल चलाएका राजनीतिक दलहरुले अन्तत सटर खाली गराउन थालेका छन् । पार्टी कार्यालयका लागि जग्गा लिने तर भाडामा सटर लगाएका यहाँ दलहरुले चौतर्फी रुपमा आलोचना भएपछि व्यवसायीक प्रयोजनका लागि दिएका सटर खाली गराएका हुन् ।




लामो समयदेखि सटरबाट भाडा उठाएका दलहरुले पछिल्लो पटक सुर्खेत उपत्यका नगर विकास समितिले पनि आफू मातहतको जग्गाको खोजी र संरक्षण थाल्दा दलहरु पछि हटेका छन् । अतिक्रमित जग्गा हटाउने अभियान थालेको समितिले सबैभन्दा पहिला राजनीतिक दलहरुको पार्टी कार्यालयमा रहेका सटरहरु खाली गराउने निर्णय गरेको थियो ।

समितिको निर्णयअनुसार नै एमालेले सटरहरु खाली गरेको छ । तर नेकपा माओवादी केन्द्रले भाडामा लगाएका दुई ओटा सटर खाली गराएको छैन् । सुर्खेतमा राजनीतिक गर्ने दलहरुले समितिको जग्गामा बनेका पार्टी कार्यालयमा व्यवसायिक रुपमा सटर भाडामा लगाउँदै आएका थिए । भाडामा सटर लगाउनेमा नेकपा एमाले, नेकपा मओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी हुन् ।

एमालेले ८ वटा र माओवादी केन्द्र र २ वटा सटर व्यवसायिक प्रयोजनका लागि भाडामा दिँदै आएको छ । तर २०७९ माघ २४ दिने समितिले आह्वान गरेको बैठकमा शुरुमा सटर खाली गर्न राजनीतिक दलहरुसँग लिखित सहमति गरेको थियो ।

समितिले लगत्तै पार्टी कार्यालयमा रहेका सबै व्यवसायिक सटर खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । समितिले दिएको समय सीमा भित्र सटर खाली नभएपछि पुन: पत्रचार नै गरेको हो । अन्तत् व्यवसायीक प्रयोजनका लागि दिएका सबै सटर एमालेले खाली गराएको छ । एमालेले सटर खाली गराएपनि माओवादी केन्द्रले समेत केही समयमा सटर खाली गराउने तयारी थालेको छ ।

पार्टी कार्यालयमा दुई ओटा सटर रहेको र ति सटर भाडामा दिएकाले केही समयभित्र खाली गराउने लागेको नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष जितबहादुर रानाले नेपालकर्मलाई जानकारी दिए । ‘समितिको बैठकमै सबै दलले साझा सहमति गरिसकेका छौं, नहटाउने भनेका छैनौं,’ अध्यक्ष रानाले भने, ‘व्यवसाय गरिराख्नु भएका साथीहरुलाई सटर खाली गराइदिन मौखिम रुपमा भनिसकेका छौं । केही दिनमा उहाँहरु त्यहाँबाट हट्नुहुन्छ ।’ आफ्नो पार्टीले सटर खाली गराउनमा कुनै आनाकानी नगरेको र लामो समयदेखि व्यवसाय गरिरहेका सार्थीहरुलाई अनेत्र सटर खोज्न समय लागेकाले केही ढिलाई भएका राना बताउँछन् ।

‘पार्टी कार्यालयका सटर खाली गराएपछि मात्रै अन्य प्रयोजनका लागि दिइएका जग्गा खाली गराउने बैठकले निर्णय नै गरेको थियो,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भनिन्, ‘शुरुवात पार्टी कार्यालयबाट भएको छ, अब समिति मातहतमा रहेका अन्य जग्गाहरुको खोजी गरेर खाली गराउने गृहकार्यमा जुटेका छौं ।’

जुन प्रयोजनका लागि जग्गा लगिएको हो त्यहीँ प्रयोजनका लागि जग्गाको उपयोग गर्न समितिले निर्देशन समेत दिइसकेको प्रमुख ढकालको भनाई छ । समितिको जग्गा संरक्षणमा राजनीतिक दलहरुले नै साथ दिनुपर्ने बताएकी ढकालले अब एक हप्ता थप समय दिएर सटर खाली गराउन लगाउने उल्लेख गरिन् । बाँकी समयमा पनि दलहरुले सटर नहटाए समिति नियमानुसार अघि बढी ढकालले जानकारी दिइन् ।

‘मुख्यबजारको काम तिव्र गतिमा निर्माण भइरहेको छ । काम सकिए लगत्तै पार्किङ्गको अभाव हुनेछ,’ ढकालले भनिन्, ‘विगतमा व्यवसायीक पसल, कवल वा अन्य प्रयोजनका लागि भाडामा दिएका जग्गा खाली गराएर ट्राफिक व्यवस्थापन गर्न पार्किङ्गस्थल बनाउने तयारीमा छौं ।’ नागरिकस्तरबाट समितिले आफ्नो जग्गामा पार्किङ्गस्थल बनाउने भए खाली गरिदिने बचन पाएको ढकालले जानकारी दिइन् ।

समितिले आफ्नो नाममा रहेको जग्गाको अवस्था पहिचान गरी उपयोगको वास्तविक स्थिति सहितको प्रतिवेदन तयार गरिरहेको छ । विगतमा समितिको नेतृत्व गर्नेहरुले मनोमानी ढंगले जग्गा वितरण गरेकाले पुन: समितिकै मातहतमा जग्गा ल्याउन तयारी नगरपालिकाको छ ।

वीरेन्द्रनगरमा उपत्यका नगर विकास र जिल्ला समन्वय समितिका नाममा रहेको जग्गामा वषौंदेखि व्यक्तिले आफूखुशी संरचना बनाएर प्रयोग गर्दै आएका छन् । सरकारी जग्गा भाडामा लगाउने विषयलाई निरुत्साहित गर्दै सार्वजनिक उपयोग र प्रयोगमा जोड दिइने नगरपालिकाको योजना रहेको मेयर ढकालले बताइन् ।

तपाईको प्रतिक्रिया