सुर्खेत । सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिकका समस्या समाधान गर्नका लागि सुर्खेतको चौकुने गाउँपालिकाले विभिन्न पाँच बुँदे प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको नागरिक समूह र स्थानीय सरकारबीचको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले उठाएका विभिन्न समस्याको समाधानका लागि पाँच बुँदे प्रतिबद्धता जनाएको हो।
टोल स्तरमा किसानहरुलाई बिउ, प्रविधि र आवश्यक परामर्श सेवा दिने, विद्यालयमा अनुगमन गरी निशुल्क तथा अनिवार्य शिक्षाको सुनिश्चित गर्ने तथा अपांगता भएका विद्यार्थीहरुको आवाशिय व्यवस्थाको अनुगमनगरी समस्या समाधान गर्ने प्रतिबद्धता गरिएको छ।


यस्तै, गाउँपालिकाभित्र द्वन्द्व पीडितहरुको लगत संकलन कार्यलाई यथासक्य चाँडो सम्पन्न गर्ने, महिला लगायत लक्षित वर्ग कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र २०७१ र ०७९ का बाढी पीडितहरुलाई राहतका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ।
कर्णाली प्रदेश सरकारको गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकार र यूएनडिपीको सहयोग समन्वयमा सहकर्मी समाजले नागरिक समूह र स्थानीय सरकारबीच सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा सहभागी नागरिकहरुले संविधानमा निशुल्क भनिएको भएपनि विद्यालयमा शुल्क लिने गरिएको, स्वास्थ्य संस्थाहरुमा सामान्वय औषधि पनि नपाइने, टुके्र आयोजनाहरुमा बजेट विनियोजन गरिएको, कृषिको नारा दिइएपनि त्यसअनुरुप कार्यक्रम तथा योजना नबनाएको, खानेपानी, सडक, विद्युतको समस्याबारे गुनासो गरेका थिए।
नागरिकले उठाएका प्रश्न तथा गुनासाको संबोधान गर्दै गाउँपालिका अध्यक्ष खड्क विक विवशले स्थानीय सरकारलाई सिमित स्रोत साधन र धेरै दायित्व भएकाले नागरिकका आवश्यकता पूरा गर्न कठिन भैरहेको बताए।

उनले आगामी दिलनमा कृषि क्षेत्रमा माटो परिक्षण, विउ विजन तथा प्राविधिक सेवा टोल टोलमा पु¥याउने, खानेपानी, विद्युत तथा सडकका समस्या समाधानका लागि सक्दो प्रयास गर्ने, विद्यालयमा निशुल्क शिक्षाको सुनिश्चित गर्ने, द्वन्द्व पीडितहरुको लगत संकलन कार्यलाई तत्कालै सम्पन्न गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे।
चौकुनेका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यले नागरिकलाई सहज तरिककाले सेवा प्रवाह गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहकर्मी समाजका कार्यक्रम संयोजक खड्कप्रसाद शर्माले जनताका गुनासा सुनेर समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
उनले उक्त कार्यक्रम अन्तर्गत पैसा नलाग्ने फोन नम्बर १०९६ मा फोन गरेर जुनसुकै समयमा गुनासा टिपाउन सकिने व्यवस्था रहेको प्रक्ष्ट पारे।
कार्यक्रमका स्थानीय नागरिक, जनप्रनिधि, शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १६:१५