सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका–५ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा बाल अधिकार समूहको पूनर्गठन गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना जनज्योती बाल अधिकार समूहको समन्वयमा समूहको पुनर्गठन गरिएको हो।

जनज्योति माध्यामि विद्यालयमा कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरूको भेलाले समूहका अध्यक्ष सुनिलसिंह सुनारको अध्यक्षतामा १३ सदस्यीय समूह गठन गरिएको इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले जानकारी दिइन्।

उनका अनुसार समूहको उपाध्यक्षमा अस्मिता कँडेल, सचिव सुमन विक, सह–सचिव प्रेम बुढा र कोषाध्यक्षमा सम्झना मिजारलाई चयन गरिएको छ।
यस्तै, सदस्यहरूमा लक्ष्मी बिक, नवराज शाही, टीका थापा, दिपेश मिजार, यामदीप पुलामी मगर, नितीसा ढकाल, पूजा सुवेदी र जपना मिजार छन्।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले पछिल्लो समयमा हाम्रा बालबालिकाले अधिकार मात्र खोज्ने र कर्तव्य भुल्ने प्रचलन बढिरहेको बताए। उनले भने, ‘नयाँ चयन हुने कार्यसमितिले अबका दिनमा विद्यालयमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्नुहुने अपेक्षा विद्यालयले लिएको छ। विद्यालयको सपना साकार पार्नमा तपाईं विद्यार्थीहरुको योग्दान अमूल्य रहनेछ।’
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गरजाले आफ्नो स्कुलमा आएको यो परियोजना देखेर खुशी व्यक्त गरे। उनले भने, ‘जति पनि नयाँ समूहमा आउनु भएको भाइ÷बहिनीहरु हुनुहुन्छ। उहाँहरूले स्कूल स्तरदेखि नै आफ्नो हक अधिकारसँगै कर्तव्यको पालन गर्दै समाज रूपान्तरणमा अहम भूमिका निभाई आफ्नो नेतृत्व विकास गर्नुहुनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु।’
गठन गरिएको समूहले एक वर्षको कार्ययोजना पनि तयार पारेको छ भने कार्ययोजनामा मंसिर महिना हाजिर जवाफ प्रतियोगिता, पौष फुटबल र भलिबल प्रतियोगिता, माघ महिनामा वादविवाद,कपडी प्रतियोगिता, फाल्गुनमा गीत प्रतियोगता, जेठमा स्पेलिङ कन्टेष्ट र सडक नाटक, असारमा चित्रकला प्रतियोगिता, साउनमा वक्तृत्वकला प्रतियोगिता र भदौ महिनामा चम्चा दौड प्रतियोगिता गर्ने गरी कार्ययोजना निर्माण गरेको छ।

नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १४:५१