सुर्खेत । कर्णालीमा नेपाल प्रहरीले लागुऔषधविरुद्ध लालटिन अभियानको सुभारम्भ गरेको छ। बिहीवार रक्षामन्त्री पूर्णबहादुर खड्काले लालटिन बालेर अभियानको सुभारम्भ गरेका हुन् । अभियानको शुभारम्भ गर्दै खड्काले सबैको साझा संकल्प र प्रयत्नबाट मात्रै लागूऔषध नियन्त्रण गर्न सकिने बताए । ‘घर, समाज र राष्ट्रलाई लागूऔषधमुक्त बनाउनका लागि सबैले संकल्प गर्नु आवश्यक छ, नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्त्वपूर्ण भूमिका हुनेछ,’ खड्काले भने,‘सीमाबाट हुने लागूऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

के हो लाटिन अभियान ?

सुरक्षित कर्णाली विशेष अभियान, २०८० कार्यक्रम अन्तर्गत सञ्चालित लालटिन अभियानले कर्णाली प्रदेशमा लागुऔषध कारोबारी र प्रयोगकर्ताको खोजी गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताए ।
‘जसरी लालटिनको प्रकाशले वरिपरिका खराब एवम् विषाक्त तत्वहरू नष्ट गर्दै उज्यालो छर्दछ, त्यसैगरी यस अभियानले लागुऔषधको कारोबारबाट समाजलाई विषाक्त बनाउने तत्वहरूलाई नष्ट गर्नेछ,’ ढकालले भने,‘जसरी अध्याँरोमा बाटो बिराएका हामीलाई लालटिनको उज्यालोले सही बाटो पहिल्याउन मद्दत गर्दछ, त्यसरी नै अज्ञानतावश जीवनको बाटो बिराएर लागुऔषध दुर्व्यसनिमा फसेका व्यक्तिहरूलाई यस अभियानद्वारा सचेतना फैलाई सही मार्गमा डो¥याउन मद्दत पुग्ने छ ।’
कर्णालीमा दिनानुदिनविकराल बन्दै गएको लागुऔषध सेवन र कारोवारको जालोले समाजमा युवा वर्गलाई शारीरिक र मानसिक रूपमै बिक्रित तुल्याएर देशको विकास र समृद्धिको लागि परिचालित हुनुपर्ने उर्जाशक्ति कमजोर बनाँउदै लगेको आभास हुन थालेपछि अभियानको थालनी गरिएको ढकालले बताए । अभियानको सफल कार्यान्वयनका लागि विशेष कार्ययोजना बनाइएको उनको भनाई छ । जस अन्तर्गत ४ वटा रणनीति, १७ वटा कार्यनीति र ६६ वटा क्रियाकलापहरू तय गरिएका छन् ।

प्रत्येक रणनीति, कार्यनीति र क्रियाकलाप कार्यान्वयन गर्न जिम्मेवार निकाय, सहयोगी निकाय, समय सीमा, अपेक्षित उपलब्धी र कार्यान्वयनका लागि आवस्यक स्रोत साधन समेत उल्लेख गरिएको ढकालले बताए ।
यस्तो छ कर्णालीमा लागुऔषधको अवस्था
कर्णाली प्रदेशमा विगत तीन आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दाआर्थिक ०७७÷०७८ मा ७०, ०७८÷०७९ मा ९५, ०७९÷०८० मा एक सय १४ वटा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भएको देखिन्छ ।
यी मुद्दामा क्रमश एक सय ३३, एक सय ७२ र दुई सय १५ जना पक्राउ परी कानूनी दायरामा पुगेका छन् । लागुऔषधमा लागेको उमेर समुह हेर्दा सबैभन्दा धेरै १६ देखि २६ वर्ष भित्रका युवाहरू रहेका प्रहरीको तथ्यांक छ ।
यस्तै, विगत वर्षहरूलाई हेर्दा कर्णालीमा एक हजार सात सय ६८ जना पुरूष र ४३ महिला लागुऔषध प्रयोगकर्ता रहेका छन् । उक्त सङ्ख्यामा क्रमश वृद्धि हुँदै गएको तथ्यांकले देखाउँछ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले गाँजा, चरेश, अफिम, हेरोइन, ब्राउन सुगर, ट्याबलेट, कोनिन, कोरेक्स लागायतका लागुऔषधहरू बरामदसमेत गरेको छ ।
कर्णाली प्रदेशमा विशेष गरी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा, दैलेखको नारायणणी र दुल्लु, सल्यानको शारदानगर, जाजरकोटको भेरी, रूकुमको मुसिकोट र चौरजहारी, कालिकोटको खाँडाचक्र र तिलागुफा, जुम्लाको चन्दनाथ, मुगुको छाँयानाथ रारा नगरपालिकाहरूमा लागुऔषध कारोबार र प्रयोगकर्ता बढी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ

नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १३:२४