इजरायलका नेपाली लिन उड्दै नेपाल एयरलाइन्सको विमान

काठमाडौँ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने प्रक्रिया अघि बढाएको छ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

अहिले यस विषयमा मन्त्री किराती, नागरिक उड्यन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष र नेपाल एयरलाइन्सका प्रमुखसँग छलफल भइरहेको छ, लगत्तै विमान पठाइनेछ। ‘प्रधानमन्त्रीको निर्देशन पश्चात आजै जहाज उड्ने तयारीमा छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले  भने। जहाज आज राती ११ बजे उड्ने तयारी छ।

सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ।

द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको सबै इन्सुरेन्स गर्नुपर्ने भएकोले युएइबाट सो कार्य सम्पन्न गर्ने र इजरायलको विमानस्थलमा ल्याण्डिङ परमिसन (जहाज अवतरण अनुमति) को प्रक्रिया पनि बुधबार नै लिइने छ। त्यसपछि जहाज इजरायल उड्ने छ।

शनिबार (असोज २०) मा प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली वेपत्ता छन्।

इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अभिभमा राखेको छ।

उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन्। हमास विरुद्ध इजरायलले गाजा क्षेत्रमा कारवाही तीव्र पारेको छ।

युद्ध चर्कने खतरा बढेपछि सरकारले इजरायलमा अध्ययन र कामका पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो।

तपाईको प्रतिक्रिया