काठमाडाै । बहुमत जुटाउन सक्ने स्थिति नभएपछि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । सर्वाेच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) अनुसार उनी दोस्रोपटक मुख्यमन्त्री भएका थिए ।

सहकार्यका लागि छाती खुलाएर प्रतिपक्षमा रहन तयार रहेको कार्कीले बताए । विश्वासको मतका लागि निवेदन दर्ता गराएकोमा प्रदेश प्रमुख समक्ष राजीनामा दिने निर्णयमा पुगेको बताए । जानी नजानी कोशीको राजनीति जटिल स्थितिमा पुगेको उल्लेख गर्दै उनले भने, ‘कसैको बहुमत छैन । एमालेले के कस्तो त्याग गर्दा सहमति सहकार्य हुन्छ, तत्काल मध्यावधिमा जानुपर्दैन, त्यसका लागि हामी तयार छौँ ।’


संविधानको धारा १६८(५) अन्तर्गत पुनः मुख्यमन्त्री हुन नपाउने सुझावपछि उनले प्रदेशसभामा राजीनामा दिएका हुन् ।प्रदेशसभाबाट विश्वासको मत लिने दिन शनिबार बिहान बसेको प्रदेश बैठकमा सम्बोधन गर्दै प्रदेश संरचनालाई बदनाम गर्ने स्थिति आउन नदिन एकजुट हुन आव्हान गरेका छन् । मुख्यमन्त्री कार्कीले भने, ‘कसैलाई निषेध गर्ने पक्षमा एमाले छैन । कसैको प्रष्ट बहुमत नपाएपछि मार्गप्रशस्त गर्न उपयुक्त हुने ठानेको छु ।’
संविधान मिचिँदा अदालतको ढोका ढक्ढकाउनुपर्ने देखिएको उनले बताएका छन् । ‘१२ दिन बजेट होली डेको स्थिति आयो । हामीले सच्याएका छौँ’ उनले भने, ‘अदालतले हामीलाई सच्यायो । ठीक ठाउँमा ल्यायो ।’

नेपाल कर्म । २० आश्विन २०८०, शनिबार १५:५६