सुर्खेत । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा पछिल्ला चार दिनको अवधिमा १५ पटक भुकम्प मापन भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शनिवार बझाङमा बिहान ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र मध्यान्ह १२ बजेर ३२ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडका दुई वटा भूकम्प मापन भएका छन् । शनिवारकाे भूकम्प गत मङ्गलबार बझाङ केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ । गत कात्तिक ९ मा डोटी केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण गौमुल गाउँपालिका– १ मा ६ जनाले ज्यान गुमाए भने करोडौँको भौतिक संरचनामा क्षति पुग्यो ।

उतिबेला तीन दिनको अवधिमा क्रमशः ६ दशमलव ६, ५ दशमलव ७ र ४ दशमलव १ रेक्टर स्केलका गरी तीनवटा भूकम्पको कम्पन मापन भएका थिए । सोही समयमा कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका दुई जिल्लालाई केन्द्रविन्दु बनाएर हप्तादिनको फरकमा चारवटा भूकम्प र पराकम्पन गएका छन् । यीमध्ये कर्णालीको मुगुमा चैत १० गते सबैभन्दा ठूलो ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । अन्य जिल्लामा ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पका धक्का महसुस भएका छन् । पछिल्लो समय पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्न थालेको छ ।

भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा जति बेला पनि विनाशकारी भूकम्प जाने ठूलो जोखिम छ । पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन् । २०७९ वैशाखदेखि चैत महिनासम्म पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा २१ वटा भूकम्पहरू गएको तथ्यांक छ ।
लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्ने भूकम्पविद्हरू बताउँछन् । अहिले सानोसानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमकै हुन सक्ने आकलन गरिएको छ । एक वर्षको अवधिमा सुदूरपश्चिमका पाँच जिल्लालाई केन्द्रविन्दु बनाएर १६ वटा भूकम्प गएका छन् । जसमा बाजुरा जिल्लामा सबैभन्दा धेरै ५ रेक्टर स्केलभन्दा साना छ वटा भूकम्पले केन्द्रविन्दु बनाएका छन् ।
९ कात्तिक २०७९ मा डोटी जिल्लामा एकै दिन ६ दशमलव ६, ४ दशमलव १, ५ दशमलव ७ रेक्टर स्केल मापन गरिएका तीनवटा भूकम्प गएको देखिन्छ । यस्तै, अछाममा ४ रेक्टर स्केलभन्दा साना २, दार्चुलामा २, धनगढीमा १, बझाङमा २ पटक ४ रेक्टर स्केलसम्मका पराकम्पनहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । सोही समयमा लुम्बिनी प्रदेशको बाँकेमा पनि ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।
यस्तै, कर्णाली प्रदेशका चार जिल्लामा केन्द्रविन्दु भएर यही अवधिमा चारवटा भूकम्पका धक्का महसुस भएका छन् । गत बैशाखमा मुगुमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । यस्तै, दैलेखको रानीवन केन्द्रविन्दु भएर ४ दशमलव १, रुकुम ४ दशमलव २ र डोल्पामा ४ दशमलव ६ रेक्टर स्केलका भूकम्पहरू गएको भूकम्प मापन केन्द्रले जनाएको छ । के भन्छन् विज्ञ ? पश्चिम नेपालमा १५०५ सालमा ठूलो भूकम्प गए पनि त्यसयता ठूलो भूकम्प नगएका कारण जमिनमुनि सञ्चित ठूलो मात्राको ऊर्जाका कारण भूकम्पको उच्च जोखिम रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् ।
दक्षिण भारतीय उपमहाद्वीपको भूगर्भमा रहेका चट्टानहरूको तह उत्तर तिब्बतीय चट्टानतर्फ जानु र युरेसियन प्लेटमा घर्षण हुनुले झन् जोखिम बढाएको कोइराला बताउँछन् । ‘पश्चिम नेपालमा ५ सय वर्षदेखि भूकम्प गएको छैन । लामो समय भूकम्प नजाँदा जमिनमुनि अथाह ऊर्जा सञ्चित भएर बसेको छ । त्यो शक्ति बाहिर निष्कने वा सकिने भनेको भूकम्प गएर मात्र हो, अन्य उपायले त्यो शक्ति बाहिर निस्कँदैन,’ कोइराला भन्छन्, ‘त्यस कारण पनि साना–साना पराकम्पनहरू गइरहेका छन् ।’
वैज्ञानिक अध्ययनले पश्चिम नेपालमा ठूलो भूकम्प जाने देखाएको छ तर त्यो कहिले जान्छ भनेर चाहिँ भन्न सकिने अवस्था नरहने उनको भनाइ छ । भारत र तिब्बतको बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्र भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा भारतीय र तिव्बतीय प्लेटहरू ठोक्किने स्थान भएकाले यो क्षेत्रको वरिपरि भूकम्पको सम्भावना सधैँ हुने भूकम्पविद् कोइराला बताउँछन् ।

‘ठूलो मात्रामा जमिनमुनि ऊर्जा सञ्चित भएका कारण साना–साना भूकम्पहरू गइरहेका छन्, यो भूकम्प जाने क्षेत्र पनि हो । तर, यस्ता साना–साना भूकम्पले ठूलो भूकम्पलाई भने टार्दैन । साना भूकम्पले ठूला भूकम्प किन टार्न सक्दैन भने, एउटा ४ रेक्टर स्केलको भूकम्पले जति इनर्जी निकाल्छ, ३ रेक्टर स्केलका भूकम्पहरू २५ हजारपटक जानुपर्छ । भन्न खोजेको के हो भने एउटा सात रेक्टर स्केलको भूकम्पले जमिनमुनिबाट जति इनर्जी निकाल्छ, त्यसलाई टार्न ६ रेक्टर स्केलका २५ र ५ रेक्टर स्केलका १ हजारवटा भूकम्पहरू जानुपर्छ । साना भूकम्पले अलिअलि ऊर्जा निस्कँदा केही पछाडि धकेलिएला, त्यो बेग्लै कुरा भयो’, भूकम्पविद् कोइराला भन्छन् ।
नेपालका हिमाली क्षेत्रहरू टेक्टोनिकल्ली एक्टिभ अर्थात् भूकम्पीय जोखिम भएका क्षेत्रहरू भएकाले नेपालमा भूकम्प जाने खतरा सधैँ रहने हुँदा यसबाट सधैँ चनाखो हुनुपर्ने तर अफवाह फैलाउन नहुने भूकम्पविद् कोइराला बताउँछन् । भूकम्प आफैँले त्यति क्षति पु¥याउँदैन तर हामीले बनाएका कमजोर संरचनाहरू र आवश्यक पूर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने कोइरालाको भनाइ छ ।
विनाशकारी भूकम्प गएको खण्डमा क्षतिको यकिन गर्न नसकिने भन्दै कोइराला भन्छन्, ‘६ रेक्टरको भूकम्पले यति क्षति ग¥यो भने त्योभन्दा त ७ को करिब १० गुणा बढी शक्तिशाली हुन्छ भने ३२ गुणा बढी ऊर्जा निक्लन्छ’, कोइराला भन्छन्, ‘अब ८ माग्यो भने ६ को भन्दा १०० गुणा बढी शक्तिशाली हुन्छ, १० गुणा बढी ऊर्जा निस्कन्छ । त्यसो हुँदा ६ को भन्दा ७ को भूकम्पले बढी क्षति हुन्छ । पुराना संरचनाहरूमा ६ रेक्टरको भूकम्पले क्षति पु¥याउँछ भने अब ७ रेक्टरले कस्तो असर होला, त्यो भन्नै परेन नि ।’ कोइरालाका अनुसार भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भूकम्पबाट हुने क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भने घर बनाउँदा भौगोलिक नक्साहरूको अध्ययन गरी चट्टानी भूभागमाथि जग बनाउनु राम्रो हुन्छ ।
वीरेन्द्रनगर उच्च जोखिममा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बनेसँगै यहाँ जनसंख्या र जनघनत्व पनि बढ्दै गएको छ । भवन आचारसंहिताविपरीत प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक धमाधम भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । यसरी आचारसंहिताविपरीत भौतिक संरचना निर्माणको कार्य तीव्र भएको छ । पछिल्लो समय वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । वीरेन्द्रनगर नगरपालिका र तयार नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा एक वर्ष लगाएर गरिएको अध्ययनले एक वर्षअघि नै यस्तो नतिजा देखाइसकेको छ ।
जियो इन्जिनियरिङ कन्सल्टेन्टले गरेको भौगर्भिक अध्ययनले भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा ठूलो क्षति हुनुका साथै बाढी र पहिरोको जोखिमसमेत उच्च रहेको देखाएको छ । उक्त अध्ययन प्रतिवेदनमा यदि भूकम्प आएको खण्डमा सबैभन्दा उच्च क्षति वडा नम्बर ६ मा हुने उल्लेख छ । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा भवन र घर निर्माणको कार्य ह्वातै बढेको छ । नयाँ बनेका प्रायः भवन संहिताविपरीत निर्माण गरेको पाइएको अध्ययनमा उल्लेख छ ।
वीरेन्द्रनगरको मुख्यबजार क्षेत्र वडा नम्बर ६ का १ हजार ८ सय ४९ घर अध्ययनमा समावेश भएका थिए । ती घरहरू प्रायः भवन निर्माण संहिताविपरीत निर्माण गरिएको अध्ययनमा उल्लेख छ । वीेरेन्द्रनगरको भौगोलिक बनावटअनुसार नगरको उत्तरी क्षेत्रमा पहिरो र दक्षिणी क्षेत्रमा बाढीका साथै भूकम्पको उच्च जोखिम रहेको पाइएको हो । भूकम्पको सम्भावित उच्च जोखिमलाई कम गर्न वीरेन्द्रनगरमा भौतिक संरचना निर्माण कार्यमा नियन्त्रण गर्दै भवन आचारसंहिताअनुरूप संरचना निर्माण गर्नुपर्ने अध्ययनले सुझाव दिएको थियो ।

नेपाल कर्म । २० आश्विन २०८०, शनिबार १६:०५