सुर्खेत । सुर्खेत विमानस्थलमा चिलका कारण वुद्ध एयरलाई अवरतरण गर्नमा कठिनाइ भएको छ । काठमाडौंबाट सुर्खेत आएको वुद्ध एयरको नाइ एन एनएच कलसाइन भएको एटीर ७२ जहाज चिलका कारण अवतरणका कठिनाइ भएको हो ।
शनिवार विहान ९ बजेर २१ मिनेटमा काँक्रेविहार नजिकै प्रवेश गरिसकेको जहाज विमानस्थलको धावनमार्गको माथि चिल देखिएपछि दुई फन्को लगाएको सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुंगेलले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार विमान धावनमार्गमा अवतरण गर्न सबै प्रक्रिया पूरा गरेपनि धावनमार्गमाथि चिल देखिदा अवतरणमा केही ढिलाई भएको हो । ‘यो समयमा पानी पर्न कम हुने र धावनमार्ग नजिकै किराहरु देखिन थालेपछि चिलहरु अलि बढी देखिने गर्छन्,’ ढुंगेलले भने, ‘विमान आउनु पूर्व चराहरु धपाउन साइरनसहितको टोली खटिएको हुन्छ । तर चरा धपाएर रनवे खाली गराउँदा पनि पुनः चरा आउँदा आज विमान अवतरणमा कठिनाइ भएको हो ।’

वीरेन्द्रनगरको आकाशमा वुद्ध एयरले दुई फन्को लगाएर ९ बजेर २६ मिनेटमा सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । अहिले उक्त जहाज पुनः काठमाडौंका लागि उडिसकेको विमानस्थलले जनाएको छ ।
विमानस्थल नजिकै रहेकाे माझी गाउँ बधशालाका कारण पनि चिल र कागहरु धावनमार्गमा आउने गरेको विमानस्थलले जानकारी दिएकाे छ । विमानस्थलको पाँच किलोमिटरको दुरीमा बधशाला निर्माण गर्न नहुने प्रष्ट नीति भएपनि सुर्खेत विमानस्थलमा जहाज अवतरणमा थप चुनौती बढेको पनि विमानस्थल स्रोतले जनाएको छ ।

नेपाल कर्म । २० आश्विन २०८०, शनिबार १०:२२