आइसिसी विश्वकप क्रिकेट : पाकिस्तान विजयी

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।



पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो। पाकिस्तानले दिएको २८७ रनको लक्ष्य नेदरल्यान्ड्स ४१ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनमा समेटियो।

नेदरल्यान्ड्सका लागि बास डि लिडले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ६८ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ६७ रनको योगदान दिएका हुन्।

त्यस्तै विक्रमजित सिंहले ५२ रन बनाए। ६७ बल खेल्दै उनले चार चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिएका हुन्। त्यस्तै लोगान भान विकले अविजित २८ रन जोडे।

बलिङतर्फ पाकिस्तानका हरिस राउफले तीन विकेट लिए। हसन अलिले दुई विकेट लिए भने शाहिन शाह अफ्रिदी, सादव खान तथा मोहम्मद नवाजले समान एक/एक विकेट झारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो। पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए। रिजवानले ७५ बलमा आठ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन्। त्यस्तै सकिलले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६८ रन जोडे।

त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे भने शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए। त्यस्तै कप्तान बाबर आजमले पाँच रन जोडे।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले चार विकेट लिए भने कोलिन एकरम्यानले दुई विकेट लिए। त्यस्तै अर्यान दत्त, लोगन भान विक र पाउल भान मार्केनले समान एकरएक विकेट लिए।

विश्वकपअन्तर्गत भोलि दुई खेल हुनेछन्। जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया