सुर्खेत । पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दै गएको लागुऔषध न्यूनिकरणका लागि प्रहरीले समुदायसँग प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । बढ्दो लागुऔषध कारोवारी र प्रयोगलाई रोक्न प्रहरीले समुदायमा आधारित सामुदायिक अंक पत्रका माध्यमबाट लागुऔषध नियन्त्रण अभियान थालेको हो । सोही बमोजिम शुक्रवार सहकर्मी समाजको प्राविधि सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ का टोल विकास संस्था तथा सरोकारवालालाई प्रहरीले सामुदायिक अंक पत्रका माध्यमबाट समुदायलाई प्रहरीसँग र प्रहरीलाई समुदायसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभ्यास गराएको हो ।


जसमा राखिएका विभिन्न सुचकका माध्यमबाट प्रहरीलाई सूचना दिने र समुदायमा लागुऔषधका बारेमा जनचेतना फैलाई यसको नियन्त्रण गर्ने उपायका बारेमा जानकारी गराइएको थियो । स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रममार्फत वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सहकर्मी समाजले वीरेन्द्रनगरका १६ वटै वडाहरुमा स्थानीय टोल विकास संस्था गठन गरेर सुशासनका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ । कार्यक्रममा वडा नम्बर १ र २ का वडाध्यक्ष तथा वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहमागिता रहेको थियो ।


नेपाल कर्म । १९ आश्विन २०८०, शुक्रबार १७:३६