सुर्खेत । राष्ट्रिय किसान आयोगका सदस्य टेकबहादुर बोगटीले किसानका समस्या समाधानका लागि आयोग प्रतिवद्ध रहेको जनाएका छन् । बिहीवार आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि, सञ्चारकर्मी, कृषि अधिकारकर्मी, सहकारीकर्मी, उत्पादक कृषक र व्यवसायीहरुसँग किसान हकहित तथा अधिकार विषयक बहस कार्यक्रममा बोल्दै सस्दय बोगटीले वास्तविक किसानको पहिचान गरी तिनका समस्या समाधानमा सरकारलाई जिम्मेवार बनाउने प्रतिवद्धता जनाएकाे हुन् ।

किसान तथा अधिकारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैं बोगटीले राज्यबाट किसानका नाममा गरिएको लगानी सही सदुपयोगमा सरकारलाई जिम्मेवार बनाउने बताए । सहभागीहरुले वास्तविक किसान राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै कृषक मैत्री नीति निर्माणमा आयोगले जिम्मेवार भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनिएपनि किसानलाई कृषि पेशामा आकर्षण गर्ने खालका योजना नआउँदा कृषकहरु पलायन हुने अवस्थामा पुगेको नेपालमा वर्षेनी कृषि उत्पादन दुई प्रतिशतका दरले घट्दै गएको उल्लेख गर्दै तीनै तहका सरकारले कृषिलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा बोल्दै दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले आफू निर्वाचित भएर आएपछि युवा लक्षित कृषि नीतिको अवलम्बन गरेको बताए । आगामी दिनहरुमा कृषि उत्पादनमा युवाहरुलाई जोडन पालिकाले विशेष योजनासहितको कार्यक्रम ल्याउन लागेको बताए ।
यस्तै, लेकवेशी नगरपालिकाका नगर प्रमुख तिलक पौडेलले दिनानुदिन रोजगारीका लागि पलायन भइरहेको युवा जनशक्तिलाई रोक्ने खालका रणनैतिक योजना अगाडि ल्याउन सके मात्रै कृषिमा आत्मनिर्भर हुन सकिने बताए ।

नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार १७:४३