मानेभञ्ज्याङ (भारत) । पछि परेको खेलमा ‘कमब्याक’ गरेको दलसिंङपाडा स्पोर्टस एकेडेमी डुवर्स सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सिङलिङ स्पोर्टिङ क्लब सिक्किमविरुद्ध ४–३ गोल अन्तरले खेल जितेर दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो।
पहिलो हाफमा ३–१ गोल अन्तरले पछि रहेको दलसिंङपाडाले दोश्रो हाफमा ३ गोल गरेको थियो।


खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो। ८ औँ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए। खेलमा पछि परेको अवस्था उल्ट्याउँदै १९ औँ मिनेटमा रोहितले खेल बराबरी गरे। ३३ औँ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए।
३५ औँ मिनेटमा किरणले अग्रता ३–१ बनाए। पहिलो हाफमा बनाएको अग्रता सिङलिङले जोगाउन सकेन।
५७ औँ मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे। ६३ औँ मिनेटमा रोशनले खेल बराबरीमा ल्याए। खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराए।

जितसँगै दलसिङले सेमिफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसँग खेल्नेछ। बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए। प्रतियोगिताको चौथो प्रि–क्वार्टरफाइनल खेलमा बिहीबार जर्जियन एफसी कालिम्पोङ र डिएसए हावडा कोलकाताबीच हुनेछ।
मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ (भारतीय ५ लाख) र उपविजेताले ४ लाख (भारतीय २ लाख ५० हजार) पाउनेछन्। प्रतियोगिताको फाइनल यही अक्टोबर १५ तारिखमा हुनेछ।

नेपाल कर्म । १७ आश्विन २०८०, बुधबार २०:०२