काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार यसै गरी चलिरहे देश झन् झन् कमजोर हुँदै जाने बताएका छन्। कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब देशलाई अघि बढाउन नसक्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकार यसैगरी रहिरहने हो भने मुलुक थप बर्बादीतर्फ जाने बताएका उनले अब कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर गरे।

‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। देशलाई अब कांग्रेस नेतृत्वको सरकार अपरिहार्य भइसकेको छ। यो सरकार या त सुध्रिनपुर्यो, या त छाडेर जानुपर्यो अब अर्को विकल्प छैन’, उनले सम्बोधनका क्रममा भने, ‘मुलुकलाई कांग्रेस नेतृत्वको सरकार जरुरी भइसकेको छ। हाम्रै साथीहरु आफ्नो नेतृत्वको सरकार नचाहिए जस्तो गरिरहेका छन्। अब कांग्रेसले कसैको इशारामा हिँडेर हुँदैन। अब यो सरकार सच्चिन तयार नहुने हो भने हामी आफ्नै खुट्टामा उभिएर सरकारको नेतृत्व लिन तयार हुनुपर्छ।’

उनले अहिले देश अत्यन्त संकटपूर्ण अवस्थामा रहेर अराजकताति गइरहेको बताएका उनले आर्थिक संकट र अराजकता एकसाथ निम्तिएको उल्लेख गरेक छन्। देशमा रोजगारीको अवसर पूरै ठप्प भएको बताउँदै कोइरालाले सरकार रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणमा पूरै बिफल भएको टिप्पणी गरे।
‘अब अति भयो, धेरै भइसक्यो, राज्यमा पूरै दण्डहीनता छ, सुशासन छैन, भ्रष्टाचार झन् झन् बढेको छ’, उनले भने, ‘अब जति दिन यो सरकारलाई टिकाइराख्यो, त्यति नै राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था झन् झन कमजोर हुँदै जान्छ।’

नेपाल कर्म । १७ आश्विन २०८०, बुधबार १९:२६