सुर्खेत । पञ्चपुरी मानव अधिकार समूहले पञ्चपुरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। मंगलबार (असोज १६) गते नगरपालिकालाई ज्ञापन–पत्र बुझाएको हो।
भदौ १९ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठकमा मानव अधिकार समूहले पञ्चपुरी नगरपालीकामा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरेको थियो।


समस्या पहिचान गर्दा पञ्चपुरी नगरपालिकाको अधिकांश सरकारी विद्यालयमा व्यवस्थित शौचालय नभएको र सेनेटरी प्याडको व्यवस्थापनका लागि सुरक्षित स्थान नभएका समस्या देखिएका थिए।
उक्त समस्यालाई लिएर मानव अधिकार समूहले ज्ञापन–पत्र बुझाएको जनाएको छ। ज्ञापन–पत्रमा भनिएको छ, ‘पञ्चपुरी नगरपालिकाको घरदैलोको राज्य मात्र नभएर पालिकाभित्रका बालबालिकाहरुको अभिभावक भएको हुँदा उनीहरुको स्वच्छ वातावरणमा बाँच्न तथा पढन पाउने अधिकार सुनिश्चित गर्ने प्रमुख कर्तव्य र दायित्व पनि पालिकाको रहेको हो।’
यस्तै, समूहले बालबालिकाहरुले स्वच्छ रुपमा बाँच्न र पढन पाउने अधिकार सुनिश्चित गर्नका लागि पञ्चपुरीका सबै सामुदायिक विद्यालहरुमा शौचालय तथा सेनेटरी प्याड व्यवस्थापन गर्न सुरक्षित स्थानको यथाशीघ्र व्यवस्थापन गर्नेतर्फ उचित कदम चाल्नुपर्ने मानव अधिकार समूहको माग रहेको छ।

ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख लालबीर भण्डारीले पालिकाका नागरिकलाई उनीहरुको हक अधिकार सुनिश्चित गर्नका तत्काल पालिकाले कमद चाल्ने बताए। उनले भने, ‘हामीले शिक्षा शाखालाई अनुगमनमा पठाउने र विद्यालयमा आएको समस्या छिटो समाधान गर्नतर्फ पनि लाग्ने छौँ।’
नेपालको संविधानको भाग ३ को धारा ३० मा स्वच्छता सम्बन्धी हक अन्र्तगत उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने तथा उपधारा २ मा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षति वापत पीडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपुर्ती पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ।
उक्त धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्वको विकासको हक हुनेछ भन्ने प्रावधान रहेको छ। संविधानले नै प्रत्याभुत गरेको ती अधिकारहरु पुर्णरुपमा उपभोग गर्नबाट भने पञ्चपुरीका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले बञ्चितहुँदै आएको समूहले दाबी गरेको छ।
पालिका भित्र रहेका ३५ प्राथमिक, १० आधारभुत तह, ९ माध्यमिक विद्यालय र ५९ वटा बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरु व्यवस्थित शौचालयउपभोग तथा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुरक्षित स्थानको अभावको कारण स्वच्छ वातावरणमा बाँच्न तथा पढ्न पाउने हकबाट बञ्चित भएका छन्।

नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार ११:५६