सुर्खेत । मिडियाका समस्या समाधान गर्नका लागि कर्णाली सरकार प्रतिबद्ध रहेको जनाएको छ। बुधबार (असोज १७) वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिलीले यस्तो बताएका हुन्।

मन्त्री जिसीले मोफसलबाट सञ्चालित नीजि क्षेत्रका सञ्चार माध्यमको दिगो विकासका लागि ऐन, नियम र कानून बनाउने प्रक्रियामा केही ढिलाई भएपनि अब छिट्टै नीतिगतरुपमा अघि बढेको बताए। उनले भने, ‘आम नागरिकलाई सुशिक्षित गर्ने कार्यमा अहोरात्र खटिने सञ्चार माध्यमसँग समन्वय र सहकार्य गरेर तत्काल देखा परेका समस्या समाधानका लागि सरकारले पहल गर्ने छ।’

यस्तै, कर्णाली सकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले मोफसलका सञ्चार माध्यमलाई परिरहेको आर्थिक संकट अन्त्य गर्नका लागि प्रदेश सरकार नीति–नियम र सहज वातावरण बनाउने कार्यमा तत्कालै जुट्ने बताए।

कर्णाली मिडिया सोसाइटीले आयोजना गरेको ‘कर्णाली प्रदेशका मिडियाले भोगेका असाधारण संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा कर्णालीबाट सञ्चालित मिडिया उद्यमीहरुले कोरोना महामारीबाट प्रभावित साथै प्रविधिको तीव्र विकासका कारण व्यावसायिक, प्राविधिक तथा आर्थिक चुनौति थपिएको बताएका थिए।
आम नागरिकलाई सुशिक्षित गर्ने उद्देश्यले नीजि क्षेत्रबाट सञ्चालित आमसञ्चार माध्यमहरु आर्थिकरुपले कमजोर बन्दै गएको कर्णाली मिडिया सोसाइटीले दाबी गरेको छ।
सोसाइटीका संयोजक सुशीलराज शर्माले मोफसलबाट सञ्चालित मुलधारका आमसञ्चार माध्यमलाई सरकारले नीतिगत रुपमै ‘साना मिडिया उद्योग प्रवद्र्धन कार्यक्रम’ ल्याउन आवश्यक रहेको बताए। ‘आफै मालिक, आफै कामदार भएर स्वरोजगार भएका साना लगानीका मिडिया उद्योगलाई सरकारले तत्काल संरक्षण गर्ने नीति ल्याउन नसके विस्थापित हुने अवस्थामा समेत पुग्न सक्छन्।

नेपाल कर्म । १७ आश्विन २०८०, बुधबार १८:५७