सुर्खेत । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह निर्वाचित भएका छन् । एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिपस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत प्राप्त गरी पराजित बने । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा जुम्लाका टेकरा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जाजजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियार पराजित भए ।
यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही विजयी हुँदा दैलेखका रुद्रबहादुर शाही पराजित भए । पार्टी केन्द्रको सर्कुलर अनुसार सर्वसम्वत नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।


ओलीलाई झट्का
यो परिणामसँगै कर्णालीमा अध्यक्ष ओलीलाई झट्का लागेको छ । ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्वत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उनले अध्यक्षका प्रत्यासी मीनबहादुर शाहलाई सर्वसम्वत अध्यक्ष बनाउन चाहेका थिए । शाहीलाई ओलीले यसअघि पनि राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए । तर, सर्वसम्वत नभई निर्वाचन हुँदा ओलीको साथ पाएका शाही भारी मतले पराजित भएका छन् । अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । शाहकोे विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी केन्द्रलाई दिएका छन् ।
पार्टी केन्द्रलाई कँडेलको जवाफ
एमाले पार्टी राजनीतिमा केन्द्रीय नेतृत्वले नरुचाईका नेता हुन्, यामलाल कँडेल । एमालेको १० औं महाधिवेशनबाट पार्टी सचिव बन्न चाहन्थे सुर्खेतका कँडेल । कर्णालीले जसरी पनि पार्टीको केन्द्रीय कमिटीमा जिम्मेवारी पाउनुपर्ने अडानसहित कँडेल चितवन पुगेका थिए । न्यायोचित अधिकारका लागि कँडेललाई कर्णालीका अन्य नेताको पनि समर्थन थियो । दुर्भाग्य, कँडेलको चाहना केन्द्रीय नेतृत्वले सम्बोधन गरेन । तत्कालिन प्रदेश इन्चार्ज रहेका कँडेललाई पार्टीको कार्य विभाजनमा घटुवा गरेर दैलेख इन्चार्ज बनाएपछि केन्द्रीय नेतृत्वप्रति कँडेल रुष्ट थिए ।

त्यसकै फलस्वरुप अहिले पार्टी सचिव लेखराज भट्टले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी निभाउँदै आएका छन् । ६ वर्षअघि अर्थात् २०७४ मा कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा थिए । ४० सदस्यी प्रदेशसभामा एमालेबाट मात्रै २० सदस्य थिए । उतिबेला कँडेल मुख्यमन्त्रीको निर्विकल्प पात्र थिए । तर, तत्कालीन नेकपा माओवादी र एमालेको एकतापछि बनेको नेकपामा कँडेल प्राथमिकतामा नपरेपछि उनको मुख्यमन्त्री बन्ने चाहना पूरा भएन । पार्टी एकतापछि पनि कँडेलले पटक–पटक मुख्यमन्त्री बन्न कोसिस गरे ।
तर, कुनै पनि हालतमा केन्द्रीय नेतृत्वले कँडेलको माग सम्बोधन गर्न तयार भएन । १० पुस २०७९ मा राष्ट्रिय समीकरणमा आएको बदलावले कँडेललाई पुनः मुख्यमन्त्री बन्ने मौका थियो । तत्कालीन अवस्थामा एमाले र माओवादीबीच सत्तासमीकरण हुँदा पनि केन्द्रले कँडेलका लागि कर्णालीलाई प्राथमिकतामा पारेन । आफुमाथी पटक–पटक केन्द्रले अन्याय गरेको गुनासो गर्दै आएका कँडेलले यसपटक आफू अनुकूलको नेतृत्व चयन गरेर पार्टी केन्द्रलाई जवाफ फर्काइ दिएको उनी निकट नेताहरु बताउँछन् ।
२४ असोज २०७७ मा नेकपा नेतृत्वको सरकार विरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए । कँडेलको सोही कदम केन्द्रीय नेतृत्वले नेकपा फुटको विजारोपणका रुपमा बुझेर उनलाई साइड कर्नरको गेट किपङ्गि भुमिकामा राखेको चर्चा गरिन्छ । गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा पार्टी केन्द्रले सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा डण्डिप्रसाद शर्माले टिकट टिकट दिएको थियो । कँडेल आफू निकट खड्कबहादुर खत्रीलाई उम्मेदवार बनाउँन चाहन्थे । तर, कँडेलले पार्टी केन्द्रले टिकट दिएका शर्मालाई हराउन जिल्ला कमिटीबाटै निर्णय गराएका थिए । उक्त निर्णयपछिशर्माले चुनाव हारे । पार्टीको आधिकारी उम्मेदवारलाई हराउन नेतृत्व गरेको भन्दै कँडेलप्रति केन्द्रीय नेतृत्व थप आक्रोसित बनेको थियो ।
को हुन् अध्यक्ष शाह ?
२०४० सालबाट अनेरास्ववियु पाँचौंमा आवद्ध भएर राजनीतिमा होमिएका शाह हाल पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा थिए । २०५६ मा तत्कालिन नेकपा एमाले विभाजन पछि बनेको नेकपा मालेमा आबद्ध भएका शाह मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बनेका थिए । २०५७ मा तत्कालिन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुगेका थिए । उनी एमालेको ९ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
शाह २०७४ मा तत्कालिन नेकपा माओवादीसँग बनेको वामगठवन्धका तर्फबाट सल्यान क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका नेता हुन् । एमाले संसदीय दलको प्रमुख सचेतक रहेका शाह तत्कालिन माओवादी केन्द्रसँग एकता भएपछि बनेको नेकपाको पनि प्रमुख सचेतकको रुपमा काम गरेका थिए । गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सल्यान क्षेत्र नम्बर १ (ख) बाट संसदीय निर्वाचनमा होमिएका शाह नेपाली कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका थिए ।

नेपाल कर्म । १६ आश्विन २०८०, मंगलवार ०३:२६