गरिबीका कारण अधिकारको हनन भइरहेकाे छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकारका आधारभूत सूचकहरुको परिपुर्तिका लागि सरकार जिम्मेवार बनेकाे मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । विगतदेखि अहिलेसम्म मानवअधिकारका लागि हरपल लडिरहेको बताउँदै शर्माले मानव अधिकार के हो , के होइन, भनेर बुझ्दा सुचकहरु आवश्यक रहेको बताएका हुन् ।



उनले हिजोआज र भोलीको विषयमा मानव अधिकारको चिन्ता राख्ने जानकारी दिए । स्वतन्त्रता भनेको बुझाई, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा भएको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न लागि परेको बताए ।

मानव अधिकारको संरक्षण र संवर्द्धनमा पत्रकारिताको भूमिका विषयक तालिमकाे उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडी ल्याएको दावी गरे।

उनले शिक्षा बिकराल बन्दै गएको समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना नै कमजोर भएको बताए । इन्सेकका अध्यक्ष डा. कुन्धन अर्यालले पत्रकारिता र मानवअधिकार एउटै डुंगाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको औंल्याए । पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रिकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने उनकाे भनाइ छ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा. श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशरी जोशीले गर्ने इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए ।

कर्णालीका सात जिल्लामा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई उक्त तालिम दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, डिसिए र सिसुको आयोजनामा सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोटका ३० जना पत्रकारलाई तालिम दिइएको छ ।

तपाईको प्रतिक्रिया