हुम्ला । चालु आर्थिक वर्ष २०८०-८१ का लागि संघ सरकारले हुम्लालाई सडक सञ्जालमा जोड्न ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्लालाई अरु जिल्लाका आयोजनामा मिसाएर १५ करोड छुट्याएको छ । तर, हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसरोवरको डिलमा उभिएर लिमी लाप्चा हुँदै मानसरोवर दर्शन गराउने बताइरहँदा त्यस क्षेत्रका जनता गोरेटो बाटो खन्दै गरेका भेटिए । हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गाउँका स्थानीय बाटो बनाउन श्रमदानमा निस्किएका हुन् । तिल गाउँमा २२ र हाल्जीमा ९६ घरधुरी छन् । नजिकैको जाँग गाउँ लगभग रित्तो भइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभूत पूर्वाधारको व्यवस्था नभएपछि उनीहरू गाउँ नै छोडेर विस्थापित भएका हुन् ।

छिमेकी गाउँ विस्थापित भएपछि अहिले तिल र हाल्जीका स्थानीयलाई निन्द्रा लाग्न छोडेको छ । स्वास्थ्य उपचारका लागि सीमापार जानुपर्ने, सीमामा प्रवेशाज्ञाको कठिनाइ तथा हिउँदको समयमा सम्पर्कविच्छेद बस्नुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीयहरू आफैँ बाटो खन्न जुटेका हुन् । स्थानीय फुटी वाङ्दी आफ्नो ११ वर्षे छोरोको हात भाँचिएपछि उपचारका लागि ताक्लाकोट पुर्याउँदा १० दिन लागेको बताउँछन् ।
सार्वजनिक यातायातको सुविधा नपुगेको लिमीका स्थानीय सामान्य प्रशासनिक कामका लागि पनि सिमिकोट नै झर्नुपर्ने बाध्यता छ । टेलिफोन सुविधा पनि छैन । स्वास्थ्य उपचारको व्यवस्था छैन । उपचारका लागि चीनको ताक्लाकोट जानुपर्ने बाध्यता छ । तर, सीमा पास लिन सिमिकोट नै पुग्नुपर्ने हुन्छ । १२ महिनामा ५ महिना हिउँका कारण पूरै सम्पर्कविच्छेद हुनुपर्छ । लिमी-लाम्चा सडकखण्डअन्तर्गत ५ हजार १ सय मिटरमा रहेको ङयालु लेकमा हिउँ पर्न थालेपछि सम्पर्कविच्छेद हुन्छ । त्यसैले वर्षभर सञ्चालन हुन सक्ने गरी तिलजुङ कगुवा हुँदै तुम्कोट बगरसम्म पुर्याउने गरी बाटो खन्न लागिएको हो ।

नाम्खा गाउँपालिका-६ का अध्यक्ष पाल्जोर तामाङले संघ र प्रदेश सरकारले लिमी उपत्यकाका बासिन्दालाई जनता नै नठानेको गुनासो गरे । उनले स्थानीय सरकारसँग आवश्यक बजेट नभएपनि स्थानीयहरू आफू बाटो खन्ने काममा जुटेको बताए । चीनसँगको लाम्चा सीमाको रक्षकका रूपमा रहेका लिमीवासीलाई सरकारले बेवास्था गरे भविष्यमा तीनवटै गाउँ रित्तो हुने र सीमा सुरक्षाको विषय गम्भीर समस्याका रूपमा देखा पर्न सक्ने दाबी गरे ।
बाटो बनाउने काममा ६० वर्षीय वृद्धा पनि सहभागी भएका छन् । हाल्जी गाउँका ज्येष्ठ नागरिक उईटुप तामाङ वर्षैभरी चल्ने मोटर बाटो बनाउन सके आफ्नो जन्मस्थानबाट विस्थापित हुनुनपर्ने बताउँछन् । आफू १५ वर्षको हुँदा सुरु गरेको सो क्षेत्रको बाटो निर्माणले पूर्णता पाउन नसकेको स्मरण गर्दै उनले तिलजुङ कगुवा हुँदै तुम्कोट पुर्याएर कर्णाली कोरिडोरसम्म जोड्ने बाटो निर्माणको काममा सहयोग गर्न सबैलाई अपिल पनि गरे ।
नेपालकै अति दुर्गम तर प्रशस्त सम्भावना बोकेको लिमी उपत्यकाका स्थानीयवासीका लागि सरकारले तत्काल अत्यावश्यक र आधारभूत सेवाको प्रत्याभूति नगराउने हो भने केही वर्षमा पूरै बस्ती खाली हुने देखिन्छ । यसले सीमा सुरक्षासँगै ऐतिहासिक र पुरातात्विक महत्त्वका संरचना जोखिममा पर्नुको साथै जैविक विविधता पनि संकटमा पर्नेछ ।

नेपाल कर्म । १२ आश्विन २०८०, शुक्रबार १७:०४