वीरेन्द्रचौकमा फेरि लफडा, धुलो उड्यो भन्दै सडक अवरोध

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्रचोकमा व्यापारीहरुले सडक अवरुद्ध गरेका छन् । वीरेन्द्रचोकेखि खोर्के खोलातर्फ आउने सडकको मुख्य चोकमा सडक कालोपत्रे नभएर धुलो उडेपछि व्यापारीहरुले सडक अवरुद्ध गरेका हुन् ।



वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको मंगलगढी–वीरेन्द्रचोक–काठको पुल, भाइरल डाँडा (भानुपार्क), यरिचोक खण्डमा यसअघि नै प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरेर निर्माण गरिसकेको छ ।

तर वीरेन्द्रचोकदेखि यरिचोक निस्कने दक्षिणतर्फको सडकको मुख्यद्वारमा कालोपत्रे नगरेरै छाडिएको थियो । उक्त जग्गा व्यक्तिको भएकाले कालोपत्रे नगरिएको निर्देशनालयले जनाएको छ ।

आधा सडक र आधा व्यक्तिको नाममा देखिएपछि करिव तीन सय मिटर सडक कालोपत्रे नगरिएको हो । तर वीरेन्द्रनगर नगरपालिकाले सबै क्षेत्र कालोपत्रे गर्न प्रयाससमेत गरेको हो । जग्गाधनी गोपाल प्याकुरेलले पुनः अदालत पुगेपछि त्यो खण्ड कालोपत्रे नगरिएको हो ।

वर्षातमा हिलो र सुख्खा मौसममा धुलो उडेपछि व्यवसायीहरुले शुक्रबार विहानैदेखि सडक अवरुद्ध गरेका छन् । ‘धुलो र सडकमा विछ्याएका गिट्टी उछिट्टएर जोखिम बढेपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको हो,’ व्यवसायी पिर्थ भण्डारीको प्रश्न छ, ‘सडक कालोपत्रे नहुँदा धुलोले पसलका सबै सामान विग्रिन रहेका छन् । नगरपालिकाले कुनै निकाश त दिनुप¥यो नि ?’

के भन्छन् जग्गा धनी ?
जग्गा धनी प्याकुरेलले सडकको जग्गामा कुनै अवरोह नगरेको बताउँछन् । आफ्नो भएको जग्गा सडकमा पार्न खोजिएपछि २०४४ सालमा आफू सर्वोच्च अदालत पुगेको र अदालतले उचित मुआब्जा दिनु भन्दै आदेश जारी भएको प्याकुरेल बताउँछन् ।

‘सम्पत्तीको नाममा त्यहीँ एउटा जग्गा थियो, त्यो पनि सडकमा पारेर आफ्नो उठिवास बनाउने भएपछि अदालत पुगेको हुँ,’ प्याकुरेलले नेपालकर्मसँग भने, ‘अदालतले व्यक्तिको जग्गामा सडक नै बनाउने हो भने मुआब्जा दिनु भनेर आदेश दिँदा पनि नगरपालिकाबाट न्याय पाउन सकेको छैन् ।’

उनले यसअघि नै जसरी सडक निर्माण गरिएको छ त्यसैगरी आफ्नो जग्गा छाडेर सडक कालोपत्रे गर्न सुझाव दिएको बताउँछन् । प्याकुरलको नाममा विच सडकदेखि पश्चिमतर्फ १९ धुर जग्गा छ ।

गत असारमा सबै सडक कालोपत्रे गर्नुपर्ने भन्दै नगरपालिकाले पहल गरेको थियो । तर जग्गाधनी पुनः उच्च अदालत सुर्खेतमा पुगेपछि पुनः अन्तरिम आदेश दिएको छ । ‘पछिल्लो पटकसहित अदालतले सडक निर्माण गर्ने नै हो भने उचित मुआब्जा दिन भनिसकेको छ,’ प्याकुरेल भन्छन्, ‘विभिन्न संघ संस्था र पार्टी कार्यालयहरुका नाममा जग्गा दिन हुन म केही नभएको व्यक्तिलाई थप पीडा दिने काम भएको छ ।’

उनले आफू विकास विरोधी नभएको बताए । ‘यसअघि जसरी सडक बनाइएको हो त्यसैगरी सडक कालोपत्रे गर्नुमा मेरो कुनै रोकवाट छैन,’ उनी भन्छन्, ‘तर आफ्नो नाममा रहेको जग्गामा कुनै हालतमा सडक बन्न दिँदैन् । कि मलाई मुआब्जा दिनुप¥यो त्यसपछि मात्रै सडकका लागि जग्गा छाड्छु ।’

 

तपाईको प्रतिक्रिया