नौं घण्टापछि एमाले कर्णालीको बन्दसत्र शुरु

सुर्खेत । बुधबारबाट जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयासमा जुट्दा करिव नाैं घण्टापछि बन्द सत्र शुरू गरिएकाे छ । सहमतिको प्रयास लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू बिहानैदेखि सिद्धार्थ होटेलमा केन्द्रित थिए । तर, आफ्नो प्रयास सफल नभएपछि पोखरेल काठमाडौं फर्किएका छन् ।



सहमतिको प्रयास अझै भइरहे पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना भने कमै मात्र देखिएको छ । अहिलेसम्म बन्दसत्र सुरु नहुँदा १० जिल्लाबाट प्रतिनिधि बनेर आएका नेता-कार्यकर्ता सुर्खेत सभाहलबाहिर बसिरहेका छन् ।

अधिवेशन अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाएका थिए । त्यसो नभए एकल रूपमा चुनाव लड्न निर्देशन दिएका ओलीले प्यानल नबनाउन निर्देशन दिएका थिए ।

ओलीको निर्देशनमुताविक सहमति गराउन महासचिव पोखरेल सक्रिय भएका थिए । तर, उनले पनि सहमति कायम गराउन सकेनन् । ओलीले कालीकोटका मिनबहादुर शाहीलाई अध्यक्षका लागि ग्रीन सिग्नल दिएको एमाले नेताहरू बताउँछन् । तर, पोखरेलले सल्यानका पोलिटब्युरो सदस्य गुलाबजंग शाहलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

एमाले स्रोतका अनुसार पोखरेल बन्दसत्रमै बस्ने योजनामा थिए । तर, अध्यक्षलगायत पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना नदेखेपछि उनी काठमाडौं फर्किएका हुन् । पोखरेलले पनि ओलीको निर्देशनबमोजिम नै अगाडि बढ्न सुझाएर काठमाडौं फर्किएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहको प्रतिष्ठाको लडाईंले निर्वाचन हुने निश्चित भएको ति सदस्यले बताए । प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्युरो सदस्य गुलावजंग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य मिनबहादुर शाहीलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमतिको सम्भावना टरेको एमाले स्रोतको दाबी छ ।

‘बुधबार अधिवेशन उद्टनमा सुर्खेत पुग्नुभएका महासचिव कमरेड (शंकर पोखरेल) ले सहमतिका लागि वान टु वान भेटघाट गर्नुभयो । तर, आकांक्षीले दाबी नछाडेपछि सहमतिको सम्भावना देखिएन’, नाम उल्लेख गर्न नचाहने ती केन्द्रीय सदस्यले भने, ‘बिहान ८ बजे सुरु गर्ने भनिएको बन्दसत्र बेलुका ५ बजेबाट मात्रै सुरु भएको छ । नेताहरू आ–आफ्नो समूहका गुटगत भेलामा व्यस्त छन्, कसरी सहमति होला र ?’

 

तपाईको प्रतिक्रिया