कर्णालीको मुख्य दुश्मन गरिबी : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताएका हुन् ।



‘हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ । यो योजना हामीले सफल पारेरै छाड्ने छौँ,’ उनले भने । त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए ।

‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बीउपुँजी अन्तरगत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्‍याउने योजनाका साथ प्रदेश सरकार लागेको छ,’उनले भने । कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए ।

राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उनले बताए । आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया