सुर्खेत । समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। विमानस्थलमा १६ जना चिकित्सक छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताए। ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए। समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए। त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्।
चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडिकाे थियाे । माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।

नेपाल कर्म । ९ आश्विन २०८०, मंगलवार १३:०१