सुर्खेत । हाल वीरेन्द्रनगरमा वितरण गरिँदै आएको झुप्रा खोला, खरी–बोरी खोला लगायतको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको छ । भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने लामो प्रयास अन्ततः सफल भएको छ । लामो अन्यौलताकाविच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिन आवश्यक सबै प्रक्रिया पूरा गरिएको हो ।

विश्व बैंकको लगानीमा निर्माण गर्न लागिएको बहुप्रतिक्षित भेरी लिफ्ट खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतसँगै टेण्डर गर्ने निर्णय गरिएको छ । भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको आयोजना कार्यान्वयन समितिको बैठकले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन स्वीकार गरेर लागत अनुमान र बोलपत्र सम्बन्धी कागजातहरु स्वीकृत गरेको छ । योसँगै अब भेरी लिफ्टीङ आयोजनाको कामको थालनी आगामी बैशाखसम्म हुनेछ । ‘भेरी लिफ्टीङ बन्दैनकी भन्ने धेरैमा शंका थियो । हामीले सबै प्रक्रिया पूरा गरेर निर्माणको थालनी गर्दैछौं,’ नगर प्रमुख ढकालले भनिन्, ‘टेण्डर आह्वानका लागि धेरै प्रक्रिया पूरा गर्नु थियो त्यो चरण पनि सकिएको छ । अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागेका छौं ।’


भेरी लिफ्टीङका लागि लगानी सुनिश्चित २०७९ असार २९ गते भएको थियो । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले सबै ठिक रहेको प्रतिक्रिया दिएपछि पहिलो चरणको काम शुरु गर्न लागिएको छ ।
यो आयोजनाको सबै अपनत्व वीरेन्द्रनगर नगरपालिकाको रहनेछ । आयोजनाको पहिलो प्याकेज अन्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गर्न लागिएको ढकालको भनाई छ ।
सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा बृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालिन खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यसहित भेरी नदीबाट खानेपानी लिफ्टीङ्ग गरेर वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

बजेट सुनिश्चित भइसकेको आयोजनाको निर्माणको यसै वर्षबाट शुरु हुने सुर्खेत उपत्यका खानीपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । टेण्डर आह्वानपछि प्रक्रियागत रुपमा जान अझै ७ देखि ८ महिना लाग्ने उनी बताउँछन् ।
यसै आर्थिक वर्षबाट निर्माण शुरु गर्न लागिएको आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य छ । भेरी नदीको सतहदेखि करिव सात मिटर गहिरो दुई वटा इन्टेक निर्माण गरिनेछ ।
नदीदेखि चारसय मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने र करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । त्यसपछि मात्रै उपत्यकाबासीका घरघरमा पानी वितरण गरिनेछ ।
करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगरको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्गसहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख वजेटको व्यवस्था गरेको छ । वीरेन्द्रनगरको खानेपानी संकटन समाधान गर्न दीर्घकालीन स्रोतको रुपमा भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम देखिएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
हाल वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दैनिक तीनसय बीस लिटर प्रतिसेकण्ड पानीको माग छ । तर सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेन्ड एकसय त्रिपन्न लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजारबढी घरधुरीलाई खानेपानी दिन सकेको छैन ।

नेपाल कर्म । ८ आश्विन २०८०, सोमबार १७:०७