सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटर्वकबीच सम्झौता भएको छ। असोज ७ गते विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र नेटवर्कका अध्यक्ष ई. लोचनलाल अमात्यबीच सम्झौता भएको हो।

उनिहरुले राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मुख्य उद्देश्यकासाथ एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले एनआरईएनले विगतमा गरेको सहकार्य र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत शैक्षिक एवं अनुसन्धानात्मक कार्य थप अगाडी बढाउने र यो सम्झौता समेत यसैको एक कडीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।

सम्झौता पश्चात मध्यपश्चिम विश्वविद्यालयलाई विश्वव्यापीरूपमा अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी र शैक्षिक संस्थाहरूबीच अनुसन्धानात्मक नेटवर्क स्थापित गर्न सकिनेछ र यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई गुणस्तरीय एवं द्रुत गतीमा आवश्यक पर्ने सूचना तथा डेटा सहजै उपलव्ध हुनेछ।
साथै एनआरईएनमा आबद्धता पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेटको निःशुल्क सेवा प्राप्त हुनेछ।

नेपाल कर्म । ८ आश्विन २०८०, सोमबार १०:२९