सुर्खेत । जिल्लाको बराहताल गाउँपालिकाका कृषक र सरोकारवाला निकायबिच संबाद कार्यक्रम गरिएकाे छ । कृषि क्षेत्रमा रहेका विद्यमान समस्या र समाधानको विकल्पको खोजिका लागि कृषक र सरोकारवालाबिच संबाद कार्यक्रमको आयोजना गरिएको हो ।
संवाद कार्यक्रममा कृषि उत्पादनदेखि बजारीकरणसम्मको अवस्था, जलवायू परिवर्तनले कृषिमा निम्त्याएको समस्या र समाधानको विकल्पबारे छलफल भएको छ । गाउँपालिकाकाे कृषि शाखाको समन्वयमा ग्रेप परियोजना अन्तरगत संवाद कार्यक्रमको आयोजना गरिएको हो । परियोजनाले जलवायू अनुकुलनको प्रविधिबारे कृषकसँग कृषि सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको छ ।


कार्यक्रममा विभिन्न कृषक समूह, कृषि उद्योग, कृषि संकलन केन्द्र तथा कृषि व्यापारीदेखि गाउँपालिका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश कृषकहरुले समयमै मल, वीउ र कृषि प्रविधिबारे ज्ञान नपाएको भन्दै गाउँपालिकाप्रति गुनासो गरेका थिए ।
यस्तै कृषि तथा मासुजन्य वस्तुको उचित मुल्य र बजार नपाएको कृषकहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै कृषक सावित्री रेग्मीले जलवायू परिवर्तनका कारण पछिल्लो समय कृषि, तरकारी तथा फलफुलमा नयाँ नयाँ रोग किराको प्रकोप बढेको भन्दै पालिकाले रोग किरा व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरिन् ।
कार्यक्रममा सहभागीहरुले पालिकाले दिने कृषि अनुदानका कार्यक्रममा राजनीति हुने गरेको, कृषि प्राविधिकहरु गाउँ नपाने गरेको, पालिकामा कोल्ड स्टोर नहुदाँ तरकारी स्टोरमा समस्या भएको लगाएत गुनासो गरेका थिए ।

कृषि संकलन केन्द्रका संचालक तथा व्यवसायी चन्द्र बहादुर सिजापतीले कृषिजन्य वस्तुको उचित मुल्य र बजारको अभाव नभएको भन्दै उत्पादन निकै कमहुदाँ समस्या भएको बताए । थोरै मात्रामा तरकारी तथा कृषिजन्य वस्तु उत्पादनले खरिद तथा निर्यातमा समस्या रहेको र कृषकले आफै डोकोमा बोकेर बजार खोज्दा असहज भएको उनको भनाइ छ ।
सहभागीको प्रश्न र गुनासोबारे प्रष्ट पार्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले राजनैतिक दृष्टिकोणले कृषिका कार्यक्रम संचालन नभएको दावी गरिन् । बराहतालमा कृषि तथा पशुपालनको प्रचुर संभावना रहेपनि बजेट अभावले सोचेअनुसार काम गर्न नसकिएको स्विकार गरिन् ।
यसअघि कृषि क्षेत्रमा बजेट विनियोजन गर्दा निकै कम बजेट व्यवस्थापन भएपनि आगामी आर्थिक बर्षदेखि कृषिलाई मुख्य प्राथमिकतामा राखेर कृषकलाई व्यवसायीक बनाउन लागिपर्ने उनको भनाइ छ ।
केही बर्ष पहिले तरकारीको मुख्य केन्द्र मानिने बराहतालमा पछिल्लो समय उत्पादन निकै घट्दै गएको छ । कृषि क्षेत्रको संभावना र चुनौतीबारे पालिकाको अध्ययनपछि उत्पादन बृद्धि गर्न र कृषकलाई व्यवसायीक बनाउन लागिपर्ने उपाध्यक्ष मगरले बताइन् ।

नेपाल कर्म । ७ आश्विन २०८०, आईतवार १७:३३