सुर्खेत । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेशको टोलिसङ्ग भएको छलफलमा सुर्खेत जिल्ला न्यायाधिवक्ता कार्यालयले न्यायमा पहुँच सहजिकरणका लागि सुर्खेतमा अपाङ्गता लक्षित प्रमाणमा आधारित अभिमुखिकरण कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय जनवकालत समिति वीरेन्द्रर नगरसँगको भेटमा सुर्खेत जिल्ला न्यायाधिवक्ता नविन कुमार भट्टले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र समन्वयमा समुदायका अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच वृद्धि गर्न र सरकारी वकिल कार्यालय प्रदान गर्ने सेवा प्रवाहका बारे जानकारी दिने उद्देश्यले आफुहरू अपाङ्गता लक्षित अभिमुखिकरण कार्यक्रम गर्न तयार रहेको बताए । उक्त कार्यक्रमको लागि प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश र व्यवस्थापन लगायतको पाटोमा जिल्ला स्थित न्यायाधिवक्ता र न्याय दिने निकाय सँग सम्बन्धित निकायले आपसी सहकार्य र समन्वय गर्ने बताइएको छ ।


सरकारी वकिल कार्यालयमा भएको छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश कुमार खड्काले अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका र त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पिडित रहेका मुद्दाहरूमा प्रक्रियागत ढिलाइ हुने गरेको भन्दै सरकारी वकिल कार्यालयले उनिहरूका मुद्दाको अभियोजन, बयान र वहस लगायतका कुरामा प्राथमिकता दिनुपर्ने बताए ।अपाङ्गताका हकमा पहिलो कुरा पिडित अन्यायमा परेपनि बाहिर खुल्न नसकेको र खुलेपनि समय लामो लाग्ने तथा प्रक्रियागत संरचनामा समय धेरै लिनाले बयान परिवर्तन गर्ने र मुद्दा नै कमजोर बनाइने गरेको कोषाध्यक्ष खड्काको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले न्याँयमा पहुँचका लागि प्रमाण कुन महत्वपूर्ण हो र कसरी सुरक्षा गर्ने लगायतका विषयमा जानकारीको अभावमा अहिले पनि कतिपय व्यक्तिहरू अन्याय सहेरै बसिरहेको बताएका थिए।राज्यले प्रदान गरिरहेका सेवा सुविधाको बारेमा जानकारी र न्यायिक प्रक्रियाका लागि वृहत सचेतना सबै प्रकारका अपाङ्गता भएकाहरूलाई जरुरी रहेको सहभागी अपाङ्गता अधिकारकर्मिको भनाइ छ ।
कार्यक्रममा सुर्खेत स्थित सरकारि वकिल कार्यालयका न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश जनवकालत अधिकृत जितलाल ढकाल र स्थानिय जनवकालत समिति वीरेन्द्रनगरका संयोजक वसन्त जैशी सहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । ५ आश्विन २०८०, शुक्रबार १७:५३