टोल विकास संस्थालाई जवाफदेही बन्न आग्रह

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरका १६ वटै वडाहरुमा रहेका टोल विकास संस्थालाई सक्रिय भएर सुशासन प्रर्वद्धनमा लाग्न आग्रह गरेको छ । शुक्रवार सहकर्मी समाजको आयोजनामा समावेशी तथा जवाफदेही स्वास्थ्य सेवा सम्बन्धि नगरपालिका स्तरिय अन्तक्र्रिया कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले लोकतन्त्र र विकासको जग टोल विकास संस्था भएकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी हुन् ।



टोल विकास संस्थाले संघीय शासन प्रणालीलाई कसरी बुझेका छन् भन्ने विषय थाहा पाउनका लागि ८ महिना अघि विकास साझेदारहरुसँगको सहकार्यमा नगरपालिकाले स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम तयार पारी लागु गरेको नगर प्रमुख ढकालको भनाई थियो । उक्त कार्यक्रम अन्तर्गत टोल विकास संस्था संचालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी टोल विकास संस्था गठनको प्रक्रिया अगाडि बढेको उनको भनाई छ ।

वडामा आउने हरेक योजनाको सही सदुपयोग, प्रभावकारी अनुगमन तथा सुशासनको प्रत्याभुतिमा टोल विकास समितिको महत्वपूर्ण भुमिका रहने ढकालले बताईन ।
कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिदै नगर प्रमुख ढकालले नगरपालिकाले आधारभुत आवश्यकताहरुमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखकाले नागरिकको स्वास्थ्यमा प्रतिवद्ध रहेको बताइन ।

स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रममार्फत वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सहकर्मी समाजले वीरेन्द्रनगरका १६ वटै वडाहरुमा स्थानीय टोल विकास संस्था गठन गरेर सुशासनका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ । कार्यक्रममा १६ वटै वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहमागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया