सुर्खेत । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हँसिया लिएर काट्न खाेज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । चौकुने गाउँपालिका-१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयमा गएकाे भदौ ३१ गते औपचारिकमा कार्यक्रममा प्रधानाध्यापक लगायतलाई काट्दिने भन्दै धम्क्याउँने २२ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
विद्यालयले शिक्षा दिवसको दिन विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सहभागी भएको कार्यक्रममा छवि साउँदले मितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गरेका थिए ।


विवाद गरी घर फर्किए उनी केहीबेरपछि हँसिया लिएर आएकाे र प्रधानाध्यापकको कोठामा प्रवेश गरेका थिए । प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन्। त्यसक्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए। अहिले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमार्फत बाहिरिएको छ।
घटनापछि प्रहरीले ईलाका प्रहरी कार्यालय बाबियाचौरले उनलाई मंगलबार नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवक र घटनासँग सम्बन्धित पीडितलाई बुधबार मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ।
युवकले विद्यालयमा आएर जथाभावी बोल्दै विवाद गर्न थालेपछि आफूले सम्झाउन खोज्दा हतियार प्रहार गर्न खोजेको प्रधानाध्यापक भण्डारीले बताइन्।कार्यालयभित्र पुगेर उनले आफूलाई घाँटीमा समातेर पनि पछारेको भण्डारीले बताइन्।

भित्र मलाई पछारेको भिडिओ आएको नआएको र त्यो भिडिओ हाम्रो अर्को स्टाफले खिचेकाले उनलाई मार्ने धम्की दिएर तिनै युवकले डिलिट गर्न लगाएको उनले बताइन् । हाल बाहिर सार्वजनिक भएको भिडिओ अफिसबाट निस्किएर मैदानमा हँसिया खोस्न खोजे पछिको रहेकाे उनले उल्लेख गरिन् ।
विद्यालयमा पुगेर ती युवकले सुरूमा आफूसँग निहुँ खोजेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय साउँदले बताए। ‘कार्यक्रम भएकाले म पनि विद्यालयमै थिएँ, ऊ मादक पदार्थ सेवन गरेर आएर तिमीहरू सबैलाई काट्छु भन्यो, म बसेको कुर्सिमा लात्तिले पनि हान्यो,’ अध्यक्ष साउँदले भने, ‘ऊ मेरो आफ्नो भतिजो पनि पर्ने भएकाले म खासै बोलिनँ, मदिरा सेवन गरेकोसँग प्रतिवाद गर्न पनि अप्ठ्यारो लाग्यो। तिमीहरूलाई काट्छु भनेपछि म्याडमले ‘किन काट्ने होर बाबु’ भनेर भन्नुभएको थियो, त्यतिबेलै ऊ गाउँमा गएर कसको घरबाट हँसिया लिएर आइसकेछ।’
छवि साउँद यसरी आउनुको कारणबारे भने आफूलाई थाहा नभएको उनले बताए। बुधबार प्रहरीले पक्राउ गरेपछि युवकको परिवारबाट धम्की आइरहेको उनले जानकारी दिए ।
कार्यक्रम भइरहेका बेला मदिरा सेवन गरेर विद्यालय पुगेका ती युवकले ‘विद्यार्थीलाई राम्रोसँग नपढाउने, म तिमीलाई काट्छु’ भन्दै गएपछि भनाभन सुरू भएको चौकुने–१ का वडाध्यक्ष जिरक बडुवालले बताए।
‘सुरुमा अध्यक्ष र प्रअसँग भनाभन भएको रहेछ, विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक भएका बेला ऊ मदिरा सेवन गरेर उनीहरूलाई काट्छु भन्दै त्यहाँ गएको मलाई सुनाएका छन्,’ बडुवालले भने, ‘स्थानीय प्रहरी कार्यालयमा एक चरणको छलफल भयो, अब जाहेरी दिने जिल्लामै जानुपर्ने भएको छ।’

नेपाल कर्म । ३ आश्विन २०८०, बुधबार २०:१७