सुर्खेत । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा भारतको केरलाबाट विरुवा ल्याएर रोपिएको छ । फोस्टेल पामका रुख र एक जोरा जातका फुलका विरुवा बुधबारदेखि रोप्न शुरु गरिएको छ ।

मंगलगढी–गणेशचोक खण्डको मुख्य बजार क्षेत्रमा विस्तारका क्रममा अशोकका विरुवा हटाउँदा वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकालको चर्को आलोचना गरिएको थियो । सडक किनाराका रुख नहटाउँदासम्म सडक विस्तारमा कठिनाई देखिएपछि नगरपालिकाले फुटपाथ हटाइदिएको हो ।

तर नगरपालिकाले पहिलो चरणमा नेता चोकसम्म ६० ओटा फोस्टेल पामका विरुवा रोप्न लागेको छ । ‘शुरुमा २५ मिटरको दुरीमा विरुवा रोप्ने भनिएको थियो, तर दुरी धेरै टाढा हुनेहुँदा १५ मिटरको फरकमा नयाँ प्रजातिका विरुवा रोपको छौं,’ नगर प्रमुख ढकालले भनिन्, ‘करिव ८ देखि १२ फिटसम्मका यी विरुवाको विचमा गमालासहित अन्य फुलहरु पनि रोपिने भएकाले बजार क्षेत्रको सौन्र्दयता कामय हुने विश्वास लिएको छौं ।
सडक किनाराको दुवैतर्फ विरुवा रोपिएकाले संरक्षणमा साथ दिन व्यापारी र नगरवासीलाई मेयर ढकालले आग्रह गरेकी छन् । नगरपालिकाले १० लाख लागतमा पहिलो चरणमा काम थालेको हो ।
८ देखि १० फिट मात्रै रहेको यी विरुवाको फैलावट कम हुने र अक्सिजन बढी दिने भएकाले वीरेन्द्रनगरको फुटफाथको क्षेत्रफलका आधारमा फोस्टेल पामका रुख ल्याइएको एग्रो अर्गानिक फार्म एण्ड नर्सरीका सञ्चालक अनिल भट्टराईले जानकारी दिए ।

‘यी विरुवाको विशेषता भनेको शितलता प्रदान गर्ने, बढी अक्सिजन दिने, खुम्चिएर फैलिने र क्षती नगर्ने खालका हुन्,’ भट्टाराईले भने, ‘विरुवाको आयु कम्तिमा १२ वर्ष हुन्छ । नेपालका पहाडी ठाउँमा परीक्षण गरिसकेका विरुवा भएकाले सुर्खेतमा पनि राम्रोसँग हुर्किन्छ ।’
यी विरूवा सुर्खेतमा निर्माण भइरहेकाे प्रदेश रंगशालामा समेत राेपिएकाे छ । बिहीबार मात्रै ३० ओटा विरुवा रोपिएको छ । विरुवा रोपिएको क्षेत्रमा एक दिन पुनः ब्लक मिलाएर सफा गर्ने र दोस्रो दिन थप रोपिने सञ्चालक भट्टराईले बताए ।
नगर प्रमुख ढकालसहित कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल, सुर्खेत उद्याेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसहितकाे टाेलीले संविधान दिवसकाे अवसर पारेर विरूवा राेपकाे हुन् । दिवसकै अवसरमा वीरेन्द्रनगरकाे भानुपार्कमा रहेका झण्डासमेत फेरिएको छ ।

सुशील खड्का । ३ आश्विन २०८०, बुधबार १८:४७