
सुर्खेत । सल्यानको शारदा नगरपालिकाले अनुमतिबिना विद्यालयमा कुनै पनि कार्यक्रम नगर्न पालिकाका सबै विद्यालयलाई निर्देशन दिएको छ ।
भदौ १९ गतेको नगर शिक्षा समिति र २७ गतेको नगर कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो । साथै नगरपालिकाले निर्णय कार्यान्वयनको लागि सबै विद्यालयलाई पत्र समेत पठाएको छ ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कुनैपनि संघ संस्था तथा व्यक्तिहरुले शैक्षिक लगायत अन्य गतिविधी सञ्चालन गर्नुपूर्व शैक्षिक संस्थाको पठनपाठनमा बाधा नपर्ने कुराको सुनिश्चित गरी अनिवार्य रुपमा यस नगरपालिकाको अनुमति लिनुपर्ने निर्णयमा उल्लेख छ ।

यस्तै शारदा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले कुनै पनि राजनितिक दलको सदस्यता लिन नपाउने र सदस्यता लिएको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही गरिने समेत नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।


नेपाल कर्म । १ आश्विन २०८०, सोमबार १७:३४