बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विस्फोट हुँदा खाडल परेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीबाट दुई किलोमिटर पूर्व राजमार्गमा आज बिहान शंकाष्पद खाडल देखिएपछि प्रहरीले सोधीखोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार गए राति बम पड्किएर सडकमा खाडल परेको हो । ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ’, उनले भने ।


डीएसपी डाँगीका अनुसार विस्फोटबाट सडकको केही भाग उडेर खाडल परे पनि अन्य कुनै क्षति भएको छैन । अहिले सडक विभागले खाडल पुरिसकेको छ भने राजमार्गमा सवारी साधन चलिरहेका छन् ।

नेपाल कर्म । ३१ भाद्र २०८०, आईतवार १५:३९