शल्यक्रिया गरिएकी सुत्केरीको कसरी भयाे मृत्यु ?

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएको छ । वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षिया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टा नबित्दै मृत्यु भएको हो । सुत्केरी जानकीका ससुरा नाता पर्ने तिलकराम अधिकारीका अनुसार सुत्केरी बेथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको नियमित डाक्टरको निगरानीमा रही शल्यक्रिया पश्चात जनरल वार्डमा सारिएको २४ घण्टापछि मृत्यु भएको हो ।



प्रदेश अस्पताललाई पछिल्लो समय प्रदेशकै सुविधा सम्पन्न अस्पतालका रुपमा लिने गरिन्छ । तर, सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको गम्भिर लापरवाही भएको परिवारले आरोप लगाएका छन् । ‘सुविधा सम्पन्न मानिएको यस अस्पतालमा सुत्केरीको मृत्यु हुन पुग्यो । अस्पतालबाट एक सय मिटर दुरीमा रहेको घर र छिमेक यतीबेला शोकमा छ ।’ जानकीका सुसुरा नाता पर्ने अधिकारीले भने ‘सकुशल बच्चा जन्मिएपछि सुत्केरीलाई केही समस्या नहोस भनेर डाक्टरको निगरानीमा राखेर वार्डमा उपचार गर्ने प्रचलन छ । तर, वार्डमा भर्ना भएको २४ घण्टामा आफÞन्तलाई मृत्युको खबर आयो ।’

परिवारले अस्पतालको लापरवाहीले जानकीको मुत्यु भएको दावी गरिरहदा अस्पतालले भने मृत्युको कारण खुलाएको छैन । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकीको शल्यक्रिया पश्चात वार्डमा सारेर उपचार भइरहेको अवस्थामा एक्कासी श्वास फेर्न गारो भएपछि सघन कक्षमा राखी उपचार गर्नेक्रममा मृत्यु भएको बताए । जानकीको पोष्टमार्टम पश्चात मात्रै मृत्युको कारण खुल्ने सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया