सैपाल हिमालको काखमा सजिएकाे रानीखर्क (फोटो कथा)

हुम्ला । भौगोलिक विकटता र विपन्नताले गाँजिएको भए पनि प्राकृतिक रूपमा कर्णाली भरिपूर्ण छ । अझ सडक सञ्जालबाट टाढा रहेको कर्णालीको हुम्ला त पद यात्राका लागि ‘भर्जिन ल्याण्ड’कै रूपमा चिनिदैँ आएका छ । त्यसकै एक हिस्सा हो सैपाल हिमालको उत्तरी काँखामा अवस्थित रानीखर्क ।



शव्द तस्वीर साैजन्य पत्रकार नरजंग तामाङ हुम्ला


नाम्खा गाउँपालिका–३ स्थित रानीखर्कबाट हिमालहरू दक्षिणमा देखिने गरेका छन् । सात हजार ३१ मिटर उचाइको सैपाल हिमाल पनि दक्षिणमा ठिंग उभिएको हेर्दा चकित परिन्छ ।


हिउँ बोकेर हुइँकिने मैला र कवाडी खोला सैपालको उत्तरतिरबाट रानीखर्कहुँदै दक्षिणतिरै बग्ने गरेको छ । जसले रानीखर्कलाई रमणीय र रंगीन मात्रै बनाएको छैन् सुनमा सुगन्ध नै बनाएको छ ।


सैपालको फेदमै रानीखर्कलाई सुन्दर बनाउन हिमताल पनि अडिएको छ । तीन हजार पाँच सय ७८ मिटरको उचाइमा रहेको यो ताललाई बाह्रै महिना हिउँले ढपक्क छोप्ने गरेको छ । अजङ्ङका पहाडबीच बर्षातमा हरियो र हिँउदमा सेतो कार्पेट बिछ्याएझैं देखिन्छ, रानीखर्क ।

वन्यजन्तु, चराचुरुंगी र बोटबिरुवाले रमणीय बनाएको छ । वसन्त र शरद ऋतुमा फुल्ने थरीथरीका फूलले पूरै क्षेत्र अत्तर छर्किरहेझैं देखिने गरेको छ । आँखैअगाडि ठिंग उभिएका सेताम्य हिमाल र हिउँ पग्लेर बगेका खोलानालाको कलकल ध्वनिले अझ मन्त्रमुग्ध पार्ने गरेको छ ।


ठुला बजेटका फिल्म, वृत्तचित्र म्युजिक भिडियो छायाङ्ककनका लागि यो रानीखर्क भारतको दार्जिलिङ, सिकिभन्दा पनि सुन्दर रहेको बौद्धधर्म गुरु पेमा रिक्साल रिम्पोच्छेको बुझाई छ ।


होचै होचो देखिने हिमाल, बुकी, एकनासको घाँस र फूलैफूलले टम्म परेको रंगीन फाँट हेरिरहूँजस्तो लाग्ने गरेको छ । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, यार्सागुम्बालगायतका जडीबुटी यहीँ फाँटमा पाइने गरेको नाम्खा गाउँपालिका–३ स्थानीय अंजोक लामा बताउँछन्।


रानीखर्क वर्षायाममा गोठाला र चौपायाले भरिन्छ । समथर फाँटमा टाढा–टाढाबाट चौँरी, भेडाबाख्रा लिएर गोठालो आउने गरेका छन । नाम्खा गाउँपालिकाले यसको प्रचारप्रसारमा ध्यान समेत नदिएपछि प्रमुख मध्येको पर्यटकीय गन्तव्यबाट रानीखर्क अझै ओझेलमा परेको छ ।

चौँरीगाईले र तिनका गोठालाले भरिभराउ रानीखर्क वैशाख लागेसँगै रानीखर्कतर्फ लाग्ने गोठालो भदौ लागेपछि मात्रै तल झर्ने गरेका छन । यो क्षेत्र सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्लाका बासिन्दाको साझा चौर नै बनेको छ ।

 

तपाईको प्रतिक्रिया