निर्माण व्यवसायीको लापरवाहीले म्याद सकिनै लाग्दा पनि बनेन स्वास्थ्य आपूर्तिको भवन

सुर्खेत । निर्माण सुरु भएको लामो समयसम्म पनि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको कामले गति लिन नसक्दा भाडाका घरमा औषधी भण्डारणमा गर्नुपर्ने बाध्यता रहेको छ ।
भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण कर्णालीका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री लुम्बिनी प्रदेशको नेपालगन्ज र सुर्खेतमा भाडाका घरमा भण्डार हुँदै आएको छ ।सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै पुरा नहुँदा समस्य आएको छ ।



एक पटक थपिएको म्याद समेत पुरा हुँनै लाग्दा निर्माण व्यवसायीले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको छ । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । भवनको हालसम्म ६० प्रतिशत कामसमेत हुन सकेको छैन । १० जिल्लाको औषधि आपूर्ती गर्नका लागि निर्माण थालिएको भवन समयमै निर्माण नहुँदा केन्द्रले भाडाको घरमा औषधि राख्दै आएको बताउँदै आएको छ ।

एक वर्षदेखि औषधि भण्डारणको काम निजी घरमा मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताउँछन् । सुर्खेतमा भवन नभएकै कारण आपूर्ति केन्द्रका उपकरण तथा औषधि नेपालगन्जमा भाडाका घरमा राख्नु परेको बताउँदै सुवेदीले भने, ‘गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन । औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधी मात्र केन्द्रमा ल्याउने गरिएको छ ।’

प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।

सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन । बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ । पहिलो पटक थपिएको म्याद अनुसार एक महिना बाँकी रहदा निर्माणको काम धेरै बाँकी छन् । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताइन ।

उनका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनु लगायतका कारण समयमा नै काम गर्न नसकिएको कम्पनीले दावी गर्दै आएको छ । वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागिपरेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको कम्पनीको दावी छ । भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ ।

सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकेता गरिरहेको बताए । उनका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ । थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको जानकारी दिए । सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा नहुने हुँदा चार जिल्लाको लागि भन्दै नेपालगन्जमा औषधिको स्टोरसँगै ढुवानी कार्य हुँदै आएको छ ।

डोल्पा , हुम्ला , मुगु र जुम्लाको लागि नेपालगन्जमा रहेको स्टोरबाट ढुवानी हुँदै आएको छ । सडकको पहुँच कम्जोर भएका यि जिल्लामा हवाई मार्गबाट औषधि ढुवानी हुँदै आएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्ति प्रसाद सुवेदीले बताए । सुर्खेतमा स्टोर गर्ने ठाउँ नहुँदा अधिकांश सामग्रीहरु नेपालगन्ज स्टोर गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया