कर्णाली प्रदेश अस्पतालमा एमआरआई सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एमआरआई सेवा सुरु भएको छ । एमआरआई सेवा सुरु गर्ने प्रदेश अस्पताल सुर्खेत, कर्णालीकै पहिलो अस्पताल हो । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काका अनुसार नेपालकै उत्कृष्ट मेसिनबाट एमआरआई सेवा सुरु गरिएको हो ।



उनका अनुसार करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरिएपछि शुक्रबारदेखि एमआरआई सेवा सुचारु भएको छ । निर्देशक खड्काका अनुसार सुर्खेतमै एमआरआई सेवा सुरू भएपछि अब कर्णालीका नागरिकलाई उपचारका लागि बाह्य जिल्ला धाउनुपर्र्ने बाध्यता अन्त्य भएको छ । उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको हो ।

नेपालकै सबै भन्दा बढि क्षमताको उक्त मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने छ । सुर्खेतमै आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडान भएपछि कर्णालीका नागरिक पनि खुसी भएका छन् ।

एमआरआई मेसिन खरिदको लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई बजेट उलब्ध गराएको हो । उक्त मेसीन नेपाली रुपैंयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भई परिक्षणमा आएको हो ।

अस्पतालका निर्देशक खड्काका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ ।

यस्तै ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई प्रयोग गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमर लगाएतका सबै रोग परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ ।

तपाईको प्रतिक्रिया