सुर्खेत । एमाले कर्णाली प्रदेश अधिवेशनका लागि शनिबार ६ सय प्रतिनिधि छनौट हुने भएका छन्। शनिबार (भदौ ३०) मा एकै दिन उक्त प्रतिनिधि छनौट हुने भएका हुन्। आगामि असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो अधिवेशनका लािग एमालेले तयारी समेत तिब्र रुपमा थालिरहेको छ। कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार आँठ सय ३७ जना छन्।
एमाले कर्णाली प्रदेश कर्यालयको बैठकले शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय गरेपछि नेताहरु सबै आ–आफ्नो पालिकातर्फ लागेका छन्।
कर्णाली प्रदेश कमिटीका रहेको हालको पदाधिकारीहरु पनि प्रतिनिधि बन्न पालिकामै जानूपर्ने छ।

एमालेले अधिवेशनका लागि कर्णालीका १० वटा जिल्लाबाट गरि पाँच सय ५० र एमालेका जनवर्गीय संगठनहरुबाट ५० जना गरि जम्मा ६०० जना प्रतिनिधि छनौट भएर आउने जनाएको छ।
पार्टीका २२ वटा जनवर्गीय संगठनहरु मध्ये २१ वटा संगठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशन समेत दिइसकेको छ। आँठ वटा जनवर्गीय संगठनलाई तीन/तीन जना र १३ वटा संगठनले दुई/दुई जना प्रतिनिधि चयन गर्ने पाउने छन्।
जसमा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मु्क्ति समाज, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यवासायी महासंघलाई एक महिला अनिवार्य सहित तीन जना प्रतिनिधि तोकिएको छ।
यस्तै, दुई जना प्रतिनिधि पाउने संगठनमा नेपाल वुद्धिजिवी परिषद्, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, अनेरास्ववियु, रिटर्नी फेडरेशन नेपाल र राष्ट्रिय सांस्कृतिक महासंघ रहेका छन्। उनिहरुले एक महिलासहित २ जना प्रतिनिधि हुन पाउने छन्।
कुन जिल्लाबाट कति प्रतिनिधि छानिँदै छन ?

अधिवेशनमा पाँच सय ५० जना प्रतिनिधि सहभागि हुँनेमा सबै भन्दा बढस् प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन्। १० हजार ५५५ जना पार्टी सदस्य रहेका यस जिल्लामा एक सय १२ जना प्रतिनिधि छनौट हुनेछन्। जसमा खुल्लातर्फ ३० महिला, ५६ पुरुष र दलिततर्फ नौ महिला र १८ पुरुष छनौट हुने छन्।
यस्तै, तीन हजार ५८८ पार्टी सदस्य रहेको सलयानमा ३८ जना प्रतिनिधि सहभागि हुनेछन्। जसमा महिलातर्फ आठ, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना छन्। दुई हजार १७० संगठित सदस्य रहेको रुकुमपश्चिमा २३ जना प्रतिनिधि चयन हुनेछन्। जसमा खुलतर्फ महिला ६, पुरुष १२ र दलिततर्फ महिला २ र पुरुष ३ चयन हुने छन्।
६ हजार ८०० पार्टी सदस्य रहेको जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन हुनेछन्। जसमा खुल्लाबाट महिला १८, पुरुष ३८, दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि सहभागी हुने छन्। तीन हजार आठ सय ३६ जना संगठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि चयन लागेका छन्। जसमा ११ महिला, २३ पुरुष खुल्लाबाट र तीन पुरुष, दुई महिला दलिततर्फ छन्। मुगुमा एमालेका तीन हजार ३१ जना संगठित सदस्यमा ३२ जना प्रतिनिधि चयन हुने छन्। जसमा खुल्ला महिलातर्फ आठ, पुरुषतर्फ १७ जना र दलिततर्फ दुई महिला र ६ पुरुष छन्।
हुम्लाबाट ४८ जना प्रतिनिधि छनौट हुने भएका छन्। चार हजार ६६५ जना संगठित सदस्य रहेको हुम्लामा १३ महिला २९ पुरुष खुल्लातर्फ र दलिततर्फबाट दुई महिला र चार पुरुष छन्। चार हजार ४४३ जना संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना प्रतिनिधि चयन हुनेछन्। जसमा १३ महिला, २५ पुरुष खुल्लाबाट र दलिततर्फबाट दुई महिला र ६ पुरुष छन्।
यस्तै, ६ हजार १०३ पार्टी सदस्य रहेको कालीकोटबाट ६५ जना प्रतिनिधि छानिनेछन्। जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट र दलिततर्फबाट पाँच महिला र १० पुरुष प्रतिनिधि हुन पाउँनेछन्। ६ हजार ६५३ संगठित सदस्य रहेको दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष प्रतिनिधि चयन हुनेछन् भने दलिततर्फ पाँच महिला र आठ पुरुष गरी ७२ जना चयन हुँदैछन्।


नेपाल कर्म । २९ भाद्र २०८०, शुक्रबार ११:४६