सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट हुनेछ।
अधिवेशनका लागि एमाले कर्णाली प्रदेशले तयारी थालिरहेको छ। अधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्ला ७९ वटै पालिका र पार्टीका जनवर्गीय संगठनलाई भदौ ३० गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय समेत गरिसकेको छ।
यस्तो छ, प्रतिनिधि छनौटको मापदण्ड

एमाले कर्णाली प्रदेशको कार्याललय बैठकले अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तयार पारेर अन्तरपार्टी निर्देशन समेत जारी गरिसकेको छ। उक्त निर्देशनमा प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट २०८० भाद्र ३० गते ७९ वटै पालिका, २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र सबै जनसंगठनहरुले एकै दिन गर्ने उल्लेख गरिएको छ।
साथै प्रतिनिधि छनौट तोकिएको निकायले सम्पूर्ण पार्टी सदस्य भेला गरी सकेसम्म सर्वसम्मत विधिबाट गर्नुपर्ने र उक्त भेलाले गरेकोे निर्णयको प्रतिलिपि अनिवार्य सलंग्न गर्नुपर्ने निर्देशन एमालेले गरेको छ।
यस्तै, एमालेले भूगोल खुल्लातर्फ १०० पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने र छनौट भएका प्रतिनिधि मध्ये एक तिहाई महिला संख्या अनिवार्य हुनुपर्ने, प्रतिनिधि छनौटको आधार भूगोलको लागि पालिका र दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र तोकिएको साथै दलित पार्टी सदस्यले दलित वा भूगोल मध्ये कुनै एक क्षेत्र रोज्न सक्ने मापदण्ड बनाएको छ।

यस्तै, प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलको लागि सम्बन्धित पालिका कमिटी र दलिततर्फका लागि सम्बन्धित प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नुपर्ने र सहजिकरण जिल्ला कमिटीले गर्नुपर्ने, ४० वर्ष मुनिका युवाहरुको सहभागिता हुने गरी प्रतिनिधि चयन गर्नुपर्ने, शेष रहेको अंक ५० प्रतिशत पुगेमा एकजना प्रतिनिधि थप हुने व्यवस्था मिलाउने तर, कुनै क्षेत्रमा आधार संख्या भन्दा कम भएमा उक्त क्षेत्रबाट एक जना प्रतिनिधि छनौट गर्ने निर्देशन एमाले प्रदेश कमिटीले जिल्लालाई दिएको छ।
साथै, एमालेले पार्टी प्रवेशबाट समायोजन भएका व्यक्तिहरुलाई पनि प्रतिनिधित्व गराउन ध्यान पुुर्याउने, छनौट भएका प्रतिनिधिहरुको निर्धारीत ढांचा अनुुसारको विवरण प्रदेश पार्टी कार्यालयमा असोज २ गते भित्र अनिवार्य पठाउनुु पर्ने छ ।
यस्तै, एमालेलेका २२ वटा जनवर्गीय संगठनहरु मध्ये अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मु्क्ति समाज, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यवासायी महासंघलाई एक महिला अनिवार्य सहित तीन जना प्रतिनिधि तोकिएको छ।
नेपाल वुद्धिजिवी परिषद्, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, अनेरास्ववियु, रिटर्नी फेडरेशन नेपाल र राष्ट्रिय सांस्कृतिक महासंघबाट एक महिलासहित २ जना प्रतिनिधि हुन पाउने छन्।
यस्तै, अधिवेशनमा सहभागी प्रतिनिधि प्रवेश शूल्क दुई हजार पाँच सय तोकिएको छ।

नेपाल कर्म । २९ भाद्र २०८०, शुक्रबार ०६:४०