वीरेन्द्रनगरमा पार्किङ र ट्राफिक व्यवस्थापन गर्न सम्भावित ठाउँ छनोट

मुख्य बजार क्षेत्रमा बारअनुसार दुवैतर्फ पाकिङ गराउन निर्देशन

सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । बढ्दो जनघनत्व र सवारी चापका कारण वीरेन्द्रनगरका सडकहरु अस्तव्यस्त बनिरहेका छन् । पार्किङस्थलको अभावका कारण मंगलगढी, यरिचोक, बजार क्षेत्र लगायतमा जथाभावी पार्किङ गर्दा सन्दौर्यता नै क्रुप बनिरहेको छ । बजारको सौन्दर्यतासँगै सवारी चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।



वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्र र मुख्य चोकमा जथाभावि रोकिने सवारीहरुको व्यवस्थापन गर्न प्रयास गरिरहेको छ । तर ठोस निर्णयमा अझै पुग्न सकेको छैन् । वीरेन्द्रनगरको मुख्यगरी बजार क्षेत्रमा चुनौतीका रुपमा रहेको सवारी आवागमनलाई सही रुपमा व्यवस्थापन गर्न पार्किङस्थलका सम्भावित ठाउँहरुको पहिचान गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको समन्वयमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही, कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालसहितको टोली तत्काल पार्किङ गर्न सकिने ठाउँहरुको स्थलगत अनुगमन गरेका छन् ।

मंगलगढी चौकको दक्षिणतर्फ जभाभावी रोकिने अटो रिक्सा र अन्य सवारीलाई राहुल स्मृतिको दक्षिणतर्फ, बजार क्षेत्रका सवारीलाई पुरातत्व विभागको जग्गा, भानुपार्कको पश्चिम तथा घण्टाघर क्षेत्रमा जथाभावी रोकिने सवारीहरुलाई घण्टाघरको दक्षिण क्षेत्र र वुद्धपथमा रहेको वुद्ध सरोवर निर्माणस्थलमा पार्किङको व्यवस्थापन गर्नेगरी स्थानहरु हेरिएको छ ।

बसपार्कदेखि दैलेख जाने सडकको घण्टाघर चोकसम्म कुनै सवारीलाई सडक सडकमा रोक्न निधेष गरिएको छ । यहाँ सडकमा रोकिने सवारीहरुलाई घण्टाघरको दक्षिणतर्फको चोकलाई तत्काल पार्किङ क्षेत्र तोकिएको छ ।

‘अन्य प्रयोजनको लागि दिइएको केही ठाउँहरुमा तत्काल भवन बन्ने देखिदैन्, ति ठाउँमा अस्थायी पार्किङस्थल बनाउँदा बजारमा देखिएको ट्राफिक चुनौतीलाई केही हदसम्म समाधान गर्न सकिन्छ,’ मन्त्री जिसीले भने, ‘बढ्दो सवारीले सडक र बजारको सौन्र्दयता क्रुप बनाइरहेको छ । अहिले नै पार्किङस्थलको व्यवस्थापन गर्न सकेनौं भने थप चुनौती बढ्छ । दशैं अगावै यो समस्या समाधानका लागि प्रदेश र पालिकाविच समन्वयका गरेर काम गर्न लागेका छौं ।’

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा शनिवार बाहेक बाँकी ६ दिन एकतर्फी गरिदै आएको पार्किङलाई रोटेसनका आधारमा दुवैतर्फ गर्ने व्यवस्था गर्न लागिएको छ । एक-एक दिनको फरकमा सडकको दुवैतर्फ पार्किङ गर्नेगरी व्यवस्था मिलाउन प्रदेश प्रहरी प्रमुख ढकालले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

‘बोर्ड राखेर बारअनुसार एक दिन सडककको एकतर्फ र अर्को दिन अर्को साइडमा पार्किङ गर्दा दुवैतर्फका व्यापारीहरुलाई सहज बनाउँछ,’ प्रहरी प्रमुख ढकालले भने, ‘शुरुमै सवारी चालकले थाहा नपाउनसक्छन् । त्यसका लागि व्यापारीहरुले पनि साथ दिनुप¥यो । बाँकी व्यवस्थापन ट्राफिक प्रहरीले गर्छ ।’

प्रहरी प्रमुख ढकालले शनिबार बजारमा सवारी चाप कम हुने भएकाले दुवैतर्फ पार्किङ गरेपनि कारवाही नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । तर वीरेन्द्रचोकमा भने जेब्राक्रसभन्दा बाहिर मात्रै पार्किङको गर्नुपर्नेछ ।

व्यापारीहरुको मागअनुसार तिहार लगत्तै एमाले पार्टी कार्यालयको दक्षिण–पश्चिम र मध्यपश्चिम विश्वविद्यालयको पर्खालमा रहेका सटरहरु खाली गराएर पार्किङस्थल कायम गरिने नगर प्रमुख ढकाल बताउछिन् ।

प्रदेश सरकारले पनि वीरेन्द्रनगरको सौन्दर्यता कायम गर्न साथ दिएकाले नगरपालिकाले तत्काल पार्किङको समस्यालाई समाधान गर्ने प्रक्रियामा लागेकोे ढकालले बताइन् ।

‘सम्भावित ठाउँहरु हेरिएको छ । तत्काल व्यवस्थापन गर्न सकिने ठाउँहरुमा काम शुरु गर्छौं,’ ढकालले भनिन्, ‘तिहार लगत्तै यसअघि नै सूचना निकालिएका ठाउँहरु खाली गराएर वृहत पार्किङ क्षेत्र तोकिएर बजारको सवारी चापलाई व्यवस्थित बनाउँछौं ।’

तपाईको प्रतिक्रिया